युके आर्मी छाडेर युक्रेनको भाडाको लडाकु बनेका जोर्डनको रुसी आक्रमणमा मृत्यु

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  १२ : २१


काठमाडौं। युक्रेनमा जारी लडाइँमा एक जना पूर्व ब्रिटिश सैनिक मारिएको उनको परिवारले जनाएको छ।

जोर्डन गेट्लीले गएको महिना ब्रिटिश सेना छाडेका थिए। उनी हालैका दिनमा भीषण लडाइँ भइरहेको पूर्वी युक्रेनको सेभेरोडोनेट्स्कमा मारिएका हुन्।

युक्रेनको पक्षमा लड्दालड्दै ज्यान गुमाउने उनी दोस्रो ब्रिटिश नागरिक हुन्। यसअघि स्कट सिब्लीको गएको एप्रिलमा ज्यान गएको थियो।

उनको परिवारले जोर्डन ‘नायक भएको र सदैव हृदयमा रहने’ जनाएका छन्।

एउटा फेसबुक पोस्टमा उनका पिताले युक्रेनमाथिको रुसी हमलाको प्रतिरोधमा जोर्डनले स्थानीय फौजहरूलाई तालिम दिएको बताए।

उनले सेभेरोडोनेट्स्कको प्रतिरक्षामा अग्रमोर्चामा लड्दालड्दै आफ्नो छोराले ज्यान गुमाएको बताए।

यसैबीच रुसी फौजहरूले पूर्वी युक्रेनको सेभेरोडोनेट्स्क सहरमा आफ्नो पकड बिस्तारै बलियो बनाउँदै लगेको यूकेको रक्षा मन्त्रालयले जनाएको छ।

त्यहाँ घेराबन्दीमा परेको एउटा रासायनिक उद्योगमा बङ्करहरूमा सयौँ गैरसैनिकहरूले आश्रय लिइरहेका विवरण आएका छन्।

क्षेत्रीय गभर्नर सेर्हेई हाइडाईले रुसी गोलाबारीका कारण छिमेकी लिसिचान्स्कसँग जोड्ने दोस्रो पुल क्षतिग्रस्त भएको बताए।

उनका अनुसार अन्तिम पुल भीषण गोलाबारीमा परिरहेको छ।

हप्तौँदेखि ठूलो लडाइँको केन्द्रमा एजोट रासायनिक उद्योग रहेको छ।

गभर्नर हाइडाईले हालसम्म ज्यान गुमाएका मानिसहरूको सङ्ख्या यकिन गर्न नसकिएको बताएका छन्।

पश्चिम युक्रेनका अधिकारीहरूले छोर्टकिभमा गरिएको क्षेप्यास्त्र आक्रमणमा २० जनाभन्दा बढी घाइते भएको जनाएका थिए।

रुसी रक्षा मन्त्रालयले पश्चिमा देशहरूले दिएको अस्त्र भण्डारलाई ब्ल्याक सीमा रहेको आफ्नो युद्धपोतद्वारा प्रहार गरिएको क्षेप्यास्त्रले निशाना बनाएको बताएको छ। बीबीसी


प्रतिक्रिया दिनुहोस्