नेपाली सेना भरपर्दो जमिनी शक्तिः फ्लिन

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ९ : २८


काठमाडौं । अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिनले नेपाली सेना एक भरपर्दो जमिनी शक्ति भएको बताउनुभएको छ।

चारदिने औपचारिक भ्रमणका क्रममा फ्लिनले आज शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेज भ्रमणपश्चात् आयोजित समारोहमा यस्तो बताउनुभएको हो।

उहाँले नेपाली सेना संसारकै पुरानो सेनामध्ये एक रहेको समेत बताउनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

उक्त भ्रमणका क्रममा उहाँले कलेजका शिक्षाध्यक्षसँग भेटघाट तथा तालिमरत शिक्षार्थी अधिकृतसँग अन्तरक्रिया गर्नाका साथै वृक्षरोपण पनि गर्नुभयो।

फ्लिन नेतृत्वको टोलीले आजै काभ्रेको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको समेत भ्रमण गरेको थियो।

सो क्रममा शान्ति कार्य तालिम केन्द्रका केन्द्रपतिबाट उक्त भ्रमणदललाई वस्तुस्थितिलगायत विविध पक्षबारेमा जानकारी गराइएको थियो।

उक्त भ्रमणदलले शान्ति स्थापना कार्यको दौरान आवश्यक पर्ने विभिन्न प्रदर्शनीको अवलोकनसमेत गरेको थियो।

भ्रमणका क्रममा नेपाली सेनाका रथी तथा अधिकृत र उक्त भ्रमण दलका सदस्यहरूबीच संयुक्त राज्य अमेरिकाबाट शान्ति स्थापना कार्यका लागि प्राप्त सहयोग भविष्यमा थप वृद्धि गर्दै लैजानेलगायत विषयमा छलफल भएको जनाइएको छ।

यसअघि उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुभएको थियो। यस्तै प्रधानसेनापतिसँग पनि उहाँले भेटवार्ता गर्नुभएको थियो।

यही जेठ २६ गते नेपालको चारदिने औपचारिक भ्रमणका लागि नेपाल आउनुभएका उहाँ आजै स्वदेश फिर्ता हुने कार्यक्रम छ। रासस


प्रतिक्रिया दिनुहोस्