महोत्तरीमा बोक्सीको आरोप लगाई कुटपिट गर्ने दुई जना पक्राउ

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ६ : ४४


महोत्तरी। महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–६ ठूलो धबौली गाउँमा दुई महिलालाई बोक्सीको आरोप लगाएर कुटपिट गरी ज्यान मार्ने उद्योग गरेको आरोपमा प्रहरीले एक महिला र एक पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय ४५ वर्षीय भुलनराम चमार र २८ वर्षीया सोमनदेवी भन्ने सोमारी देवी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले बताउनुभयो ।

प्रहरी उपरीक्षक पङ्गेनीका अनुसार सोही गाउँका ५३ वर्षीया महिला कालोदेवी महतो र ५४ वर्षीया दुलारीदेवी रामलाई बोक्सीको आरोप लगाउँदै पक्राउ परेका भुलन र सोमारीसहित १०–११ महिला पुरुष मिलेर शरीरका सबै कपडा च्यातेर निर्वस्त्र पारी कुटपिट गर्नाका साथै ज्यान मार्ने उद्योग गरेको भन्दै पीडित कालोदेवी महतोका छोरा अमित महतो र दुलारी देवीका नाति रामजीवन रामले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

जाहेरीपछि प्रहरीले सो घटनामा संलग्न रहेको आरोपमा भुलन र सोमारीलाई आज पक्राउ गरेको हो । निजहरुउपर ९बोक्सीको आरोप लगाइ कुटपिट गरी ज्यान मार्ने उद्योग० मुद्दा चलाएर कारबाही प्रक्रिया अगाडि बढाएको छ भने बाँकी फरार व्यक्तिको खोजतलास भइरहेको जनाइएको छ ।

घटनाका प्रत्यक्षदर्शी स्थानीयवासीका अनुसार स्थानीय तलेवर राम, भुलन राम, रामु राम, राकेश राम, रबि राम, बहुरीदेवी राम, सोमनदेवी राम, आरतीदेवी राम, पवनदेवी राम र सुटियादेवी रामले कालोदेवी महतो तथा दुलारीदेवी राम दुवैलाई बोक्सी भन्दै नग्न पारेर हात, मुक्का, लातीले मरनासन्न गरी कुटपिट गरेका थिए ।

मरनासन्न गरी कुटिएकी महिला कालोदेवीको जिल्ला अस्पताल जलेश्वरमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको र अहिले पनि सोही अस्पतालमा उपचार भइरहेको पीडित महिलाका देवर दिनेश महतोले बताउनुभयो ।

प्रहरीले कालोदेवीलाई उद्धार गरी लगेपछि गाउँभन्दा ५०० मिटर टाढा खेतमा काम गरिरहेकी अर्की महिला दुलारीदेवी रामलाई पनि सोही समूहले खेतमै गएर शरीरका सबै कपडा च्यातेर उनीसँग पनि त्यस्तै व्यवहार गरेको पीडित दुलारीले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्