पाकिस्तानका पूर्व राष्ट्रपति मुसरफ अस्पताल भर्ना, अवस्था गम्भीर

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ९ : १९


इस्लामावाद । पाकिस्तानका पूर्व राष्ट्रपति जनरल पर्वेज मुसरफ अस्पताल भर्ना हुनुभएको छ ।

पछिल्लो तीन हप्तादेखि दुवई स्थित एक अस्पतालमा भर्ना गरेर उहाँको उपचार भइरहेको अधिकारीहरूले शुक्रबार जनाएका छन्।

सुविधा सम्पन्न अस्पतालमा उपचार भइरहेपनि अवस्थामा खासै सुधार नआएको र अवस्था गम्भीर नै रहेको पारिवारिक सदस्यहरूले बताएका छन् ।

उनीहरूका अनुसार उहाँको अवस्थामा सुधार आउने कुनै संभावना छैन भने शरिरका धेरै अङ्गमा समस्या उत्पन्न भएको छ।

मुसरफको ट्वीटर हेन्डलमै उहाँका परिवारजनको तर्फबाट लेखिएको सन्देशमा उहाँलाई भेन्टिलेटरमा भने नराखिएको स्पष्ट पारिएको छ।

उहाँको अवस्थामा सुधार होस् भनेर आफुहरुले प्रार्थना गरिरहेको पनि उहाँका आफन्तले बताएका छन्।

ट््वीटरमा लेखिएको छ, “उहाँलाई भेन्टिलेटरमा राखिएको होइन। उहाँको अवस्था गम्भीर छ। तत्काल सुधार हुने संभावना पनि छैन। उहाँका अधिकांश अंगले काम गरेका छैन्न । त्यसैले उहाँलाई सजिलो होस् भनेर हामीले कामना गरिरहेका छौँ।”

सन् २००१ देखि २००८ सम्म पाकिस्तानको राष्ट्रपति बन्नुभएका मुसरफको जन्म भने भारतको नयाँ दिल्लीमा भएको थियो। सैन्य उच्च अधिकारी रहेकै बेला सन् १९९९ मा सैन्य कु गरेर उहाँले राज्य सत्ता हातमा लिनु भएको थियो।


प्रतिक्रिया दिनुहोस्