सलमान खान हत्या हुनबाट जोगिए, लरेन्स बिस्नोइले मार्न पठाएका थिए सार्प सुटर!

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ४ : ४९


काठमाडौं। पञ्जावी गायक सिद्धु मुसेवालाको हत्यापछि यतिबेला सलमान खान र उनका परिवारलाई हत्याको धम्की आएको छ।

हत्या गर्ने चेतावनीसहितको पत्र सलमान खानको घर अगाडि भेटिएसँगै यतिबेला उनको परिवारको सुरक्षाका लागि विशेष प्रहरी टोली खटाइएको छ।

यस क्रममा टाइम्स नेटवर्कले एक रिपोर्ट सार्वजनिक गर्दै सलमान खान हत्याबाट जोगिएको खुलासा गरेको छ। गुन्डा नाइके लरेन्स बिस्नोईले सलमान खानको हत्या गर्न सार्प सुटर पनि पठाएको रिपोर्टमा जनाइएको छ।

यद्यपी सलमान खान त्यो दिन हत्या हुनबाट जोगिए किनभने सार्प सुटरले बन्दुक चलाउन पाएनन्।

सलमान सँधै साइक्लिङका लागि बिहान घर बाहिर जाने गरेको खबर उनीहरुले पाएका थिए। त्यसबेला उनीसँग सुरक्षागार्ड हुँदैन भन्ने पनि खबर उनीहरुले पाएका थिए।

तर जुन दिन गोली प्रहार गर्न त्यहाँ सार्प सुटर पुगे त्यो दिन सलमानको विशेष कार्यक्रम थियो त्यसैले बिहान सलमान सुरक्षाकर्मीसँग घर बाहिर निस्किए। प्रहरीहरु देखेपछि भने गोली नचलाइएको रिपोर्टमा उल्लेख गरिएको छ।

भारतीय संचारमाध्यमका अनुसार नयाँदिल्लीको तिहाड जेलमा रहेका ग्याङस्टार लरेन्स बिश्नोईले सलमानलाई ज्यानको धम्की दिएका थिए। लरेन्स त्यही व्यक्ति हुन्, जसमाथि पञ्जाबी गायक तथा र्‍यापर सिद्धु मुसेवालाको हत्या गरेको आरोप छ।

सिद्धुको हत्यापछि प्रशासनले सलमानको सुरक्षाको संख्या बढाउको छ। सलमानमाथि राजस्थानका जोधपुरमा कालो हरिण शिकारको आरोप छ। कालो हरिणलाई बिश्नोई समाज निकै पवित्र मान्छन्। त्यहीकारण लरेन्सले सलमानलाई धम्की दिएको बताइएको छ।

यसअघि अगष्ट २०२० मा हरियाणा प्रहरीले एक राहुल साँगा नामका व्यक्तिलाई पक्राउ गरेको थियो। यो व्यक्ति लरेन्स बिश्नोई ग्याङका सुटर थिए। प्रहरीको अनुसन्धान पछि ती व्यक्तिले आफू लरेन्सको भनाई अनुसार सन् २०२० मा सलमानको घरको रेकी गर्न आएको खुलासा गरेका थिए।

यही घटनाक्रमसँग टाइम्स नेटवर्कको रिपोर्ट सम्बन्धित छ।


प्रतिक्रिया दिनुहोस्