५८ वर्षे महानायक राजेश हमाल भन्छन्ः बल्ल २१ वर्ष लागियो!

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  १० : ५३


काठमाडौं। नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल हिजो बिहीबारबाट ५८ वर्षका भएका छन्।

महानायक हमालको जन्मदिनमा शुभचिन्तक तथा परिवारका सदस्यहरुले उनलाई विभिन्न माध्यमबाट जन्मदिनको शुभकामना दिए।

हमालको जन्म वि.सं २०२१ साल जेठ २५ गते पाल्पाको तानसेनमा भएको थियो। उनी ३४ वर्षअघि ‘युगदेखि युगसम्म’बाट फिल्मी क्षेत्रमा प्रवेश गरेका थिए।

आजको दिनसम्म आइपुग्दा महानायक हमालले २ सय ७ वटा फिल्ममा अभिनय गरेका छन्। केही फिल्म छायांकनको तयारीमा छन्।

सेन्ट जेभियरमा ८ कक्षासम्म पढेका उनले विद्यालय स्तरिय शिक्षा मस्कोबाट उत्तिण गरेका हुन् भने उच्च शिक्षा एम.ए अंग्रेजी भारतको पञ्जाब विश्वविद्यालयबाट पूरा गरेका हुन्।

उनका पिता चुँडा बहादुर हमाल विभिन्न देशका लागि नेपालको तर्फबाट राजदुत भएका थिए। महानायक हमालले २०७१ सालमा प्रेमिका मधु भट्टराईसँग विवाह गरेका थिए।

यसैबीच राजेश हमालले जन्मदिनको अवसरमा शुभकामना दिने सबैलाई धन्यवाद ज्ञापन गरेका छन्।

सामाजिक संजालमा उनले जन्मदिन मनाएको फोटो र भिडिओ पनि पोस्ट गरेका छन्। जहाँ ५८ वर्षे उनले व्यंग्यात्मक रुपमा भनेका छन्,‘Thank you everyone… सबैलाई धेरै धेरै धन्यवाद। 21 बर्ष पनि पुगियो’


प्रतिक्रिया दिनुहोस्