काठमाडौं । नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा ओमानसँग १३ रनले पराजित भएको छ ।
टेक्ससस्थित मोसा क्रिकेट मैदानमा शुक्रबार बिहान सकिएको खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको हो ।
जितको लागि २ सय १२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ४९.४ ओभरमा १ सय ९८ रनमा अल आउट भयो । नेपालका आरिफ शेखले ७९ बलमा ६ चौका ६६ सर्वाधिक रनको योगदान दिए । देव खनालले ३४ तथा रोहित पौडेलले २० र दिपेन्द्र सिंह ऐरीले १६ रन जोडे ।
त्यस्तै विनोद भण्डारीले १४, सोमपाल कामीले १३, डेब्यु खेलाडी सुनिल धमलाले १२, करण केसीले ८ रन जोडे । ओपनर सुवास खकुरेलले ३ तथा कप्तान सन्दीप लामिछाने २ रनमा आउट हुँदा सुशन भारी शून्य रनमा अविजित रहे ।
ओमानका जिसन मक्सुद र खवर अलिले ३/३ विकेट लिए । बिलाल खानको नाममा २ विकेट रह्यो ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ११ रन बनाएको थियो । ओमानका कप्तान जिशान मकसुद १ सय २६ बलमा १२ चौकासहित १ सय ४ रनको शतकीय इनिङ खेल्दै प्रतिस्पर्धात्मक योगफल निर्माण गरेका थिए ।
नेपालका करण केसीले ३८ रन खर्चिएर ५ विकेट लिए । यस्तै सन्दीपले २ तथा सोमपालले १ विकेट लिए ।