काठमाडौंको फोहोर व्यवस्थापनबारे मेयर बालेन र प्रधानमन्त्री देउवाबीच छलफल

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ९ : ०२


काठमाडौं। काठमाडौंको फोहोर व्यवस्थापनबारे प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच छलफल भएको छ।

देउवाले मेयर शाहलाई भेट्न बोलाएर काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा जानकारी लिएका हुन्।

भेटमा देउवाले बञ्चरेडाँडाका स्थानीयबासी र जनप्रतिनिधिसँग पनि छलफल गर्न बालेनलाई सुझाव दिएका थिए।

यसैबीच स्थानीय सहमतिबेगर काठमाडौंको फोहोर बञ्चरेडाँडामा फालेपछि उत्पन्न विवाद सुल्झाउन सरकार र आन्दोलनरत समूहबीच शुक्रबार वार्ता हुने भएको छ।

वार्तामा सरकार तर्फबाट सहरी विकास मन्त्री रामकुमारी झाँक्री, आन्दोलनरत संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना, फोहोरमैलाबाट प्रभावित नुवाकोट र धादिङका वडाध्यक्ष, नुवाकोटका कांग्रेस नेता प्रकाशशरण महत लगायत सहभागी हुने छन्।

मेयर बनेयता बालेन शाह फोहोर व्यवस्थापनको विषय समाधान गर्न तल्लिन देखिएका छन्।


प्रतिक्रिया दिनुहोस्