मेयर बालेन साहसँग फ्रान्सका राजदूत जीलको शिष्टाचार भेट

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ६ : ४१


काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साहसँग फ्रान्सका राजदूत जील बुर्बाओले आज शिष्टाचार भेट गरेका छन।

महानगर प्रमुख साहको कार्यकक्षमा भएको भेटका क्रममा नगर व्यवस्थापनका लागि सेवा र सुविधा वितरणबारे छलफल भएको छ।

‘हामी अहिले बजेट नीति तथा कार्यक्रमको तयारीमा छौँ । फोहोरमैलाको दिगो व्यवस्थापन, स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रसँगै सहरी यातायातको सुधार, सांस्कृतिक तथा प्राचीन सम्पत्तिको सम्मान, संरक्षण तथा प्रवर्धनलगायतका क्षेत्रलाई हामीले प्राथमिकतामा राखेका छौँ ।’ भेटमा मेयर शाहले भने, ‘ विकासको आगामी दिशा प्रक्षेपण अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाबाट भविष्यका कार्यक्रमसमेत तय गर्ने प्रणाली विकास गर्दैछौँ।’

भेटका क्रममा राजदूत बुर्वाओले, सहरी विकास र व्यवस्थापनका लागि दिगो आर्थिक प्रस्तावका आधारमा काठमाडौँलाई सहयोग गर्न आफूहरु इच्छुक रहेको बताए।

‘फोहोरमैला व्यवस्थापन, पानीको प्रशोधन तथा शुद्धिकरण, स्वास्थ्य र शिक्षामा हाम्रो सहयोग हुन सक्छ ।’ राजदूत जिलले सार्वजनिक यातायात प्रणालीको सुधार विषयमा भने, ‘काठमाडौँको भौगोलिक तथा सामाजिक संरचनाअनुसार मेट्रो वा मोनोरेलभन्दा सहरी केवुल कार उपयोगी हुन्छ । अन्य सार्वजनिक यातायातका साधनमा हुने लगानीको दाँजोमा यसका लागि थोरै लगानी चाहिन्छ। मर्मत र सञ्चालन खर्च पनि कम हुन्छ ।’

कुराकानीपछि राजदूत वुर्वाओले प्रमुख शाहलाई सहरी केवल कार सञ्चालन सम्बन्धी सोच पत्र प्रदान गरेका थिए।


प्रतिक्रिया दिनुहोस्