नुपुर शर्माको विवादस्पद टिप्पणीपछि अलकायदाद्वारा भारतमा बम पड्काउने चेतावनी

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ३ : ४९


काठमाडौं। भारतको सत्ताधारी पार्टी भारतीय जनता पार्टी भाजपाकी प्रवक्ता रहेकी नुपुर शर्माले पछिल्लोपटक एक विवादस्पद टिप्पणी दिएकी छिन्। जसकारण विश्वभरका मुस्लिम राष्ट्रहरु आक्रोशित बनेका छन्।

उनको टिप्पणी भारतको लागि गम्भीर राजनीतिक समस्या बनिसकेको छ। भारतले मुस्लिम धर्मगुरु पैगम्बर मोहम्मदबारे देशको सत्तारूढ दलका नेताले गरेको विवादास्पद टिप्पणीलाई लिएर इस्लामिक विश्वसँगको सम्बन्धलाई साम्य पार्न खोजिरहेको पनि छ।

यतिबेला भाजपाले नुपुर शर्मा र कुमार जिन्दललाई पार्टीबाट निष्काशित गरिसकेको छ। यी दुवैले मुस्लिम धर्मगुरु पेगम्बर मोहम्मदबारे आपत्तिजनक टिप्पणी गरेका थिए।

शर्माले गत महिना एउटा टेलिभिजन बहसमा त्यस्तो टिप्पणी गरेकी थिइन् भने सो दलको दिल्ली एकाइको सञ्चार प्रमुख नवीन जिन्दलले यसबारे ट्वीट गरेका थिए। मुस्लिम समुदायबारे गरिएको उक्त टिप्पणीले घृणा उत्पन्न गराउने भएकाले त्यो भनाइ प्रकाशन र प्रसारण गरिएको छैन।

तर सो टिप्पणीपछि कतार, साउदी अरब, कुवेत, इरान, बहराइन र पाकिस्तानजस्ता मुस्लिम राष्ट्रले भारतको चर्को आलोचना गरिरहेका छन्।

यूएई, ओमान, इन्डोनेशिया, इराक, माल्दिभ्स, जोर्डन, लिबिया र बहराइन पनि त्यस्ता अभिव्यक्तिको निन्दा गर्ने इस्लामिक विश्वको पङ्क्तिमा मिसिएका छन्।

नुपुर शर्माको भनाइले इश्वरनिन्दाको पराकाष्ठा नाघेको भन्दै कतार, कुवेत र इरानले त भारतीय राजदूतहरुलाई बोलाएर स्पष्टीकरण सोधिसकेको छ।

यी राष्ट्रहरुमा लाखौं भारतीयहरुले काम गर्छन् र यही देशबाट भारतमा अरबौं डलर रेमिटेन्ट भित्रिन्छ। त्यसबाहेक यी राष्ट्रहरुले भारतको उर्जा सुरक्षामा महत्वपूर्ण भूमिका खेल्छन्।

यी देशका नागरिकहरुले भारतसँगको कूटनीतिक सम्बन्ध तोड्नुपर्ने अभिव्यक्ति दिइरहेका छन्। भाजपाले प्रवक्ता शर्मालाई निष्काशित गरेसँगै आफ्नो पार्टीले हरेक धर्म र संस्कृतीलाई उत्तिकै सम्मान गर्ने जनाएको छ।

शर्माले भने आफूले धेरैपटक हिन्दु धर्मको विरोध भएको सुनेकाले त्यसको प्रतिवाद मात्र गरेको बताएकी छिन्। पछिल्लो घटनाक्रमपछि भने उनले माफी मागेकी छिन्। यद्यपी धार्मिक सहिष्णुतालाई भड्काएको भन्दै उनको भारत भित्रै र विश्वभर आलोचना भइरहेको छ।

यसैबीच कुवेतले पनि भारतको विरोध गर्दै त्यहाँका डिपार्टमेन्ट स्टोरहरुबाट भारतीय उत्पादनहरु हटाएको छ।

कलकायदाको धम्की
यसैबीच मुस्लिम अतिवादी संगठन अलकायदाले नुपुर शर्माको अभिव्यक्तिपछि भारतका विभिन्न स्थानमा श्रृंखलावद्ध बम हमला गर्ने चेतावनी दिएको छ।

भारतीय उपमहाद्वीपमा सक्रिय अलकायदाको क्षेत्रीय समूह ‘एक्यूईएस’ले दिल्ली, मुम्बाई, उत्तर प्रदेश र गुजरातमा बम हान्ने चेतावनी जारी गरेको इन्डियन एक्सप्रेसले जनाएको छ।

नुपुर शर्माको टिप्पणीले विश्वभरका मुस्लिमको चित्त दुखेको र खुन उम्लिएको अलकायदाको भनाइ छ।

यतिबेला नुपुर शर्माको सुरक्षा व्यवस्था कडा पारिएको पनि समाचारमा जनाइएको छ। अलकायदा सोही आतंकवादी समूह हो जसले अमेरिकामा सन् २००१ मा श्रृंखलावद्ध आक्रमण गरेको थियो। सो आक्रमणमा ३ हजार जनाको ज्यान गएको थियो।


प्रतिक्रिया दिनुहोस्