काठमाडौं। भारतले पैगम्बर मोहम्मदबारे देशको सत्तारूढ दलका दुई नेताले गरेको विवादास्पद टिप्पणीलाई लिएर इस्लामिक विश्वसँगको सम्बन्धलाई साम्य पार्न खोजिरहेको छ।
यसअघि भारतको हिन्दू राष्ट्रवादी दल भारतीय जनता पार्टी भाजपाकी प्रवक्ता रहिसकेकी नूपुर शर्माले गत महिना एउटा टेलिभिजन बहसमा त्यस्तो टिप्पणी गरेकी थिइन् भने सो दलको दिल्ली एकाइको सञ्चार प्रमुख नवीन जिन्दलले यसबारे ट्वीट गरेका थिए।
खासगरी शर्माको टिप्पणीले देशको अल्पसङ्ख्यक मुस्लिम समुदालयलाई केही राज्यमा प्रदर्शन समेत गर्नेगरी क्रुद्ध पारेको छ। अपमानजनक प्रकृतिका कारणले बीबीसीले शर्माको अभिव्यक्तिहरूलाई दोहोर्याएको छैन।
दुवै नेताहरूले सार्वजनिक रूपमा क्षमायाचना गरिसकेका छन् र पार्टीले शर्मालाई निलम्बन र जिन्दललाई निष्कासन गरेको छ।
भाजपाले एउटा विज्ञप्ति प्रकाशित गर्दै भनेको छ,‘भाजपाले जुनकुनै धर्मका जुनकुनै धार्मिक व्यक्तित्वको अपमानलाई कडा रूपमा निन्दा गर्छ। भाजपा कुनै समूह वा धर्मको अपमान गर्ने वा कमजोर देखाउने हरेक वादको विरुद्धमा छ। भाजपाले त्यस्ता मानिस वा सिद्धान्तलाई प्रोत्साहन गर्दैन।’
आलोचकहरू शर्मा र जिन्दलका ती अभिव्यक्तिले पछिल्ला केही वर्षमा देशमा भएको गहिरो धार्मिक ध्रुवीकरण दर्साउने बताउँछन्। सन् २०१४ मा भाजपा सत्तामा आएदेखि मुस्लिम समुदायविरुद्ध घृणा फैलाउने अभिव्यक्ति र आक्रमणहरू व्यापक रूपमा वृद्धि भइरहेका छन्।
विज्ञहरूका भनाइमा भाजपाले यस विषयमा जनाएको प्रतिक्रिया पर्याप्त नहुन सक्छ।
यूएई, ओमान, इन्डोनेशिया, इराक, माल्दिभ्स। जोर्डन, लिबिया र बहराइन पनि त्यस्ता अभिव्यक्तिको निन्दा गर्ने इस्लामिक विश्वको पङ्क्तिमा मिसिएका छन्। भारतको आन्तरिक मामिलाले अन्तर्राष्ट्रिय रूप लिँदै गर्दा यसअघि कुवेत, कतार र इरानले भारतीय राजदूतहरूलाई बोलाएर आइतवार विरोध जनाएका थिए।
साउदी अरबले पनि आफ्नो धारणा व्यक्त गरेको छ। कतारले भारतबाट सार्वजनिक रूपमा माफी अपेक्षा गरिएको जनाएको छ।
‘इस्लामप्रति पूर्वाग्रही अभिव्यक्तिलाई दण्डबिनै जारी राख्न दिनुले मानवाधिकार संरक्षणमा गम्भीर खतरा उत्पन्न गराएको छ र यसले थप पक्षपात र सीमान्तीकृत हुने बाटोतर्फ डोर्याउँछ। त्यसले हिंसा र घृणाको चक्र सिर्जना गर्छ’ कतारको विदेश मन्त्रालयले भनेको छ।
साउदी अरबले समेत आफ्नो वक्तव्यमा कडा शब्दहरू प्रयोग गरेको छ। यसैबीच कुवेतले पनि भारतको विरोध गर्दै त्यहाँका डिपार्टमेन्ट स्टोरहरुबाट भारतीय उत्पादनहरु हटाएको छ।
VIDEO: Superstores in Kuwait remove Indian products from their shelves after remarks on the Prophet Mohammed by an official in India’s ruling party prompted calls on social media to boycott Indian goods pic.twitter.com/AD1J3wTY2g
— AFP News Agency (@AFP) June 6, 2022