बर्दिया घटनामा गृहमन्त्रीको प्रष्टीकरण– गोली प्रहार गर्ने आदेश नै छैन

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  १ : २०


काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले प्रहरीको गोली लाग्दा भएको नवीना थारुको मृत्यु घटनाबारे गठित समितिले निष्पक्ष ढंगले छानबिन गर्ने दाबी गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा घटनाबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले स्थानीय समुदाय, जनप्रतिनिधि र सर्वदलीय संयन्त्रले पनि घटनाको छानबिन गर्न माग गरेको र सोहीअनुसार समिति गठन गरिएको जानकारी दिए ।

गृहमन्त्री खाँणले घटनालाई दुःखद् र जाति विशेषलाई लक्षित गरेर गोली प्रहार नभएको पनि स्पष्ट पारे । घटनाले संवेदनशील ठानिएर नै सरकार उत्तरदायी भएर समिति गठन गरिएको भन्दै उनले समितिले बुझाउने प्रतिवेदनको आधारमा संलग्नलाई कारबाही हुने आवश्यक बताए ।

उनले भने– ‘नागरिकहरुको यस्तो अवरोधमा गोली प्रहार गर्ने आदेश नै छैन । सम्झाई बुझाइ गर्ने, कमभन्दा कम शक्ति प्रयोग गर्ने भनेका छौं । सीडीओले पनि आदेश दिएको छैन भन्नु भएको छ । जसले गल्ती गरेको छ, त्यसअनुसार कारबाही गर्ने प्रतिवद्धता जनाउन चाहन्छु ।’

सरकारले गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा आज पाँच सदस्यीय समिति गठन गरेको छ । थारुको हिजो प्रहरीको गोली लाग्दा मृत्यु भएको थियो ।

 


प्रतिक्रिया दिनुहोस्