‘मुसेवालाकै हालत बनाइदिन्छु’ भन्ने चेतावनीपछि सलमानको परिवारलाई विशेष सुरक्षा प्रदान

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  १२ : २८


मुम्बई। बलिउड अभिनेता सलमान खान र उनका पिता सलीम खानलाई एक अज्ञात व्यक्तिले पत्र लेख्दै ज्यानको धम्की दिएका छन्।

यो मामलालाई गम्भीर रुपमा लिँदै मुम्बई प्रहरीले बान्द्रा पुलिस स्टेसनमा उजुरी दर्ता गराएर अनुसन्धान सुरु गरेको छ।

बीबीसीहिन्दीका अनुसार सलमानका पिता सलीमलाई यो धम्कीपूर्ण पत्र प्राप्त भएको थियो। त्यसपछि सलीमले मुम्बईको बान्द्रा प्रहरी चौकीमा उजुरी दिएका थिए।

प्रहरीका अनुसार पत्रमा ‘पञ्जावी गायक मुसेवालाकै हालत’ बनाइदिने भनेर चेतावनी दिइएको छ। चेतावनी दिनेले आफ्नो पहिचान ‘जी.बी.एल.बी’ भनेर दिएको छ।

यतिबेला मुम्बई प्रहरीले तुरुन्तै अज्ञात व्यक्तिविरुद्ध मुद्धा दर्ता गराएर अनुसन्धान सुरु गरेको छ। सलमान खानको परिवारलाई विशेष सुरुक्षा पनि दिइएको छ।

यसअघि नयाँदिल्लीको तिहाड जेलमा रहेका ग्याङस्टार लरेन्स बिश्नोईले सलमानलाई ज्यानको धम्की दिएका थिए। लरेन्स त्यही व्यक्ति हुन्, जसमाथि पञ्जाबी गायक तथा र्‍यापर सिद्धु मुसेवालाको हत्या गरेको आरोप छ।

सलमानमाथि राजस्थानका जोधपुरमा कालो हरिण शिकारको आरोप छ। कालो हरिणलाई बिश्नोई समाज निकै पवित्र मान्छन्। त्यहीकारण लरेन्सले सलमानलाई धम्की दिएको हुनसक्ने बताइएको छ।

यसअघि अगष्ट २०२० मा हरियाणा प्रहरीले एक राहुल साँगा नामका व्यक्तिलाई पक्राउ गरेको थियो। यो व्यक्ति लरेन्स बिश्नोई ग्याङका सुटर थिए। प्रहरीको अनुसन्धान पछि ती व्यक्तिले आफू लरेन्सको भनाई अनुसार सन् २०२० मा सलमानको घरको रेकी गर्न आएको खुलासा गरेका थिए।


प्रतिक्रिया दिनुहोस्