रुसका थप दुई वरिष्ठ सैन्य अधिकारी मारिए, पुटिनलाई अर्को झट्का

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ४ : ५५


काठमाडौं। रुसले युक्रेनमा आक्रमण थालेको १०० दिनभन्दा बढी भइसकेको छ। यद्यपी युद्ध रोकिने कुनै संकेत देखिएको छैन।

दोहोरिँदै युद्ध रोक्ने वार्ता भएता पनि एकलेअर्काको सर्त नमान्दा युद्ध जारी रहेको हो।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हालै एक सम्बोधनमा आफ्ना २० प्रतिशत भूभाग रुसको कब्जामा गएको बताएका थिए।

पछिल्लो विवरणअनुसार रुसको २० हजार सेना र युक्रेनको १० हजार सेना मारिएको बताइएको छ। पश्चिमा राष्ट्रहरुले अत्याधुनिक हतियार सहयोग गरेपछि युक्रेनले रुसको कडा प्रतिकार गरिरहेको हो।

आफ्ना धेरै सेना मारिएपछि रुस तनावमा छ, उसले भाडाका लडाकु पनि प्रयोग गरेको खबर छ। यसबीचमा रुसलाई अर्को झट्का पनि लागेको छ। रुसका वरिष्ठ सैन्य अधिकारी मारिने क्रम जारी छ।

हालै पनि रुसका दुई वरिष्ठ सैन्य अधिकारी लेफ्टिनेन्ट जनरल रोमन बर्दिन्कोभ र मेजर जनरल रोमन कुटजोभ युक्रेनमा मारिएका छन्।

यी दुवैले युक्रेनविरुद्धको युद्धमा विभिन्न क्षेत्रमा अग्रपंक्तिका सेनाको मोर्चा सम्हालेका थिए। यसरी मुख्य सैन्य अधिकारीहरु मारिएपछि रुसी सेनाको मनोबल घट्ने अनुमान गरिएको छ।

रुसले पश्चिमा राष्ट्रले युक्रेनलाई हतियार दिन नहुने विशेषगरी रकेट तथा क्षेप्यास्त्र दिन नहुने नभए आफूले युक्रेनमा झनै खतरनाक आक्रमण गर्ने चेतावनी दिएको छ।

तर बेलायतले रुसी चेतावनी बेवास्ता गर्दै युक्रेनलाई एम२७० लन्च रकेट सिस्टम पठाएको छ। यसले ८० किमी परसम्म पुग्ने रकेटलाई लन्च गर्दछ।

पश्चिमा राष्ट्रकै कारण युक्रेनसँगको युद्ध लम्बिएको भन्दै रुस निकै रुष्ट छ। बीबीसी र डेलीमेलको सहयोगमा


प्रतिक्रिया दिनुहोस्