मोदीको पार्टीका प्रवक्ताको टिप्पणीपछि विश्वभरका मुस्लिम देश आक्रोशित

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  १ : ५०


काठमाडौं। भारतको सत्ताधारी पार्टी भारतीय जनता पार्टी भाजपाकी प्रवक्ता रहेकी नुपुर शाहले पछिल्लोपटक एक विवादस्पद टिप्पणी दिएकी छिन्।

जसकारण विश्वभरका मुस्लिम राष्ट्रहरु आक्रोशित बनिरहेका छन्। उनको टिप्पणी भारतको लागि गम्भीर राजनीतिक समस्या बनिसकेको छ।

यतिबेला भाजपाले नुपुर शर्मा र कुमार जिन्दललाई पार्टीबाट निष्काशित गरिसकेको छ। यी दुवैले मुस्लिम धर्मगुरु पेगम्बर मोहम्मदबारे आपत्तिजनक टिप्पणी गरेका थिए।

एक टेलिभिजन बहसका क्रममा नुपुर शर्माले मुस्लिम धर्मगुरु पेगेम्बर मोहम्मदले नाबालिगसँग यौन सम्पर्क राखेको बताएकी थिइन्।

यस्तो टिप्पणीपछि कतार, साउदी अरब, कुवेत, इरान, बहराइन र पाकिस्तानजस्ता मुस्लिम राष्ट्रले भारतको चर्को आलोचना गरिरहेका छन्।

नुपुर शर्माको भनाइले इश्वरनिन्दाको पराकाष्ठा नाघेको भन्दै कतार, कुवेत र इरानले त भारतीय राजदूतहरुलाई बोलाएर स्पष्टीकरण सोधिसकेको छ।

यी राष्ट्रहरुमा लाखौं भारतीयहरुले काम गर्छन् र यही देशबाट भारतमा अरबौं डलर रेमिटेन्ट भित्रिन्छ। त्यसबाहेक यी राष्ट्रहरुले भारतको उर्जा सुरक्षामा महत्वपूर्ण भूमिका खेल्छन्।

यी देशका नागरिकहरुले भारतसँगको कूटनीतिक सम्बन्ध तोड्नुपर्ने अभिव्यक्ति दिइरहेका छन्। भाजपाले प्रवक्ता शर्मालाई निष्काशित गरेसँगै आफ्नो पार्टीले हरेक धर्म र संस्कृतीलाई उत्तिकै सम्मान गर्ने जनाएको छ।

शर्माले भने आफूले धेरैपटक हिन्दु धर्मको विरोध भएको सुनेकाले त्यसको प्रतिवाद मात्र गरेको बताएकी छिन्। पछिल्लो घटनाक्रमपछि भने उनले माफी मागेकी छिन्।

यद्यपी धार्मिक सहिष्णुतालाई भड्काएको भन्दै उनको भारत भित्रै र विश्वभर आलोचना भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्