तीन महिनाभित्र पोखराका सबैघरमा रुख रोपिने

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  ५ : १४


पोखरा । पोखरा महानगरपालिकाले तीन महिना भित्र महानगरका सबै घरमा कम्तिमा एउटा रुख रोप्ने भएको छ।

मेयर धनराज अचार्यले आउँदो तीन महिनाभित्र प्रत्येक घरमा बिरुवा रोपिसक्ने घोषणा गरेका हुन्।

विश्व वातावरण दिवसको अवसरमा उनले त्यसको सबै ब्यवस्थापन मिलाउन आफुले तयारी थालिसकेको बताए।

केही वर्षअघि सेती नदिमा आएको अप्रत्यासित बाढी, गत वर्ष मनाङ र मादीमा आएको बाढीको स्मरण गर्दै उनले वातावरणीय सन्तुलन कायमका लागि वृक्षारोपण अनिवार्य रहेको बताए।

सानो क्षेत्रफलमा बनेका घरमा समेत अक्सिजन दिनेखालका सानातिना बिरुवा भए पनि रोप्न नगरवासीलाई आग्रह गरेका छन्।

मेयर आचार्यले पोखरामा यसअघि चौतारा र पोखरी मासिएको भन्दै त्यसको क्षतिपुर्ति हुने गरी आफुले बिरुवा रोप्न र हुर्काउन पहल गर्ने दाबी गरे।

‘विगतमा पोखरामा प्रशस्त पोखरीहरु थिए। चौताराहरु थिए। प्रशस्त वरपिपलका बिरुवाहरू थिए, ति सबै मासिए,’ उनले भने, ‘अब जे जति जोगिएको छ, त्यसको संरक्षण गर्ने र सडक छेउमा कस्ता उपयोगी बिरुवा रोप्ने भन्ने विषयमा सरोकारवाला विज्ञसँग बसेर निर्णय गर्ने छौं। अनि पोखरालाई नारा अनुसारको स्वच्छ हराभरा सुन्दर पोखरा व्यवहारमै बनाउने छौं।’


प्रतिक्रिया दिनुहोस्