बैतडी समन्वय समितिमा गठबन्धन हुने, एमालेसँग ८ र गठबन्धनसँग ११ भोट

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ८ : ०५


बैतडी । बैतडीमा जिल्ला समन्वय समितिको निर्वाचन २४ जेठमा हुँदैछ। निर्वाचनका लागि दलहरू कसरतमा जुटेका छन्। जिल्लामा सत्ता गठबन्धनमा रहेका दलहरू पालिकाको चुनाव जस्तै पुनः गठबन्धन गरेर जाने देखिएका छन् भने नेकपा एमाले एक्लो रहने देखिएको छ।

१० स्थानीय तहका २० भोट रहेको बैतडीमा ९ भोट नेपाली कांग्रेससँग छ भने २ भोट नेकपा माओवादी केन्द्रसँग छ। एमाले एक्लैसँग ८ भोट हुँदा स्वतन्त्रसँग एक भोट रहेको छ।

स्वतन्त्रबाट डिलाशैनी गाउँपालिकामा अध्यक्ष बनेका सन्तोष प्रकाश जोशी भने यसअघि नेकपा एमाले बैतडी जिल्ला कमिटी सदस्यका साथै राष्ट्रिय युवा संघका प्रदेश कमिटी अध्यक्षसमेत थिए।

पार्टीबाट राजीनामा दिएर चुनाव लडेका उनले अहिले एमालेलाई सहयोग गर्ने वा नगर्ने विषयमा मुख खोलेका छैनन्। तर, कार्यपालिकामा भने कांग्रेससँग मिलेर बनाएका छन्।

यसरी कांग्रेस माओवादीको गठबन्धनले नै जिल्ला समन्वय समिति बनाउने देखिन्छ। गठबन्धनलाई स्वतन्त्रबाट जितेका अध्यक्षले साथ दिएमा एक सदस्य स्वतन्त्रलाई दिने गठबन्धन दलहरूको सहमति छ।

गठबन्धनका तर्फबाट कांग्रेसका खगेन्द्रसिंह धामीलाई समन्वय समिति प्रमुख र माओवादीका दमन कुवरलाई उपप्रमुखका लागिअघि सारिएको छ।

नेकपा एमालेले समेत मोहन थापालाई प्रमुख पदमा अघि सार्ने तयारी गरेको छ । तर, गठबन्धनसँग ११ मत रहेकोमा कुनै आश्चर्य नभएमा समन्वय समितिका लागि प्रष्ट बहुमत देखिन्छ।

यता एमालेले २मत मात्रै रहेको माओवादीलाई प्रमुख पद दिएर पनि गठबन्धन गर्न सक्ने कुरा सुनिन्छ तर उक्त कसरतमा एमाले कत्तिको सफल हुन्छ त्यो समयले बत्ताउँछ। गठबन्धनले भने, ४ सदस्य काग्रेस, २ माओवादी र १ स्वतन्त्रलाई दिने जनाएको छ।

जिल्ला समन्वय समितिको निर्वाचनमा पालिकाका प्रमुख र उपप्रमुखले मात्रै मतदान गर्न पाउने व्यवस्था छ।


प्रतिक्रिया दिनुहोस्