श्रीलङ्काले कोरोना महामारीका लागि छुट्ट्याइएको सामाजिक सुरक्षा कोषबाट औषधि खरिद गर्ने

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ६ : ०३


श्रीलङ्कामा आवश्यक औषधीहरू किन्न कोभिड–१९ सामाजिक सुरक्षा कोषको प्रयोग गर्न राष्ट्रपति गोटबाया राजपाक्षले शुक्रबार निर्देशन दिनुभएको छ ।

आर्थिक सङ्कटको बेला देशले औषधिको गम्भीर अभावको सामना गर्नुपरेपछि राष्ट्रपति राजापाक्षले यो निर्देशन दिनुभएको हो ।

राजपाक्षले विगत दुई वर्षभित्र महामारीको समयमा दाताहरुबाट सङ्कलन गरिएको कोभिड–१९स्वास्थ्य सेवा तथा सामाजिक सुरक्षाकोषमा रहेको अनुमानित छ लाख अमेरिकी डलर प्रचलनमा ल्याई आर्थिक सङ्कटका कारण औषधि खरिदमा देखिएको अभावलाई सम्बोधन गर्न आग्रह गर्नुभएको हो ।

दक्षिण एसियाली मुलुकमा यो महामारी नियन्त्रणमा रहेकाले यो कोष अन्य स्वास्थ्य सेवा आवश्यकताका लागि प्रयोग गर्न सकिने र खासगरी अस्पतालहरूका लागि आवश्यक औषधिहरू आयात गर्न यसलाई परिचालन गरिने उहाँले बताउनुभयो ।

श्रीलङ्का विदेशी मुद्रा अभावका कारण स्वतन्त्रतापछि अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक सङ्कटको बीचमा रहेको छ । यहाँ आर्थिक सङ्कटका कारण औषधि, इन्धन र खाद्यान्नजस्ता अत्यावश्यक वस्तुको अभाव भएको छ। रासस


प्रतिक्रिया दिनुहोस्