अमेरिकामा बन्दुक किन्ने उमेर १८ देखि बढेर २१, बाइडेन भन्छन्ः अधिकार खोसेको होइन

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  १२ : २५


काठमाडौं। अमेरिकामा गोलीकान्डका घटना दोहोरिँदै सुनिन्छन्। झन पछिल्लो समय त एक विद्यालयमा गोलाबारी हुँदा २१ जनाको मृत्यु भयो।

मारिनेमा १९ जना बालबालिका थिए। यसरी विद्यालय भित्रै गोलाबारी सुरु हुन थालेपछि यतिबेला अमेरिकामा बन्दुक व्यापार बन्द हुनुपर्छ भन्ने बहस छेडिएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यसबीचमा अब बन्दुक किन्ने उमेर १८ नभएर २१ बनाइनुपर्छ भन्ने अभिव्यक्ति दिएका छन्।

बन्दुकबाट हुने हिंसा बढेपछि त्यसलाई रोक्न बन्दुक खरिदका लागि २१ वर्ष उमेरहद राखिने उनको भनाइ रहेको छ।

उनले भनेका छन्,‘हामीले हतियार व्यापारमा प्रतिबन्ध लगाउन आवश्यक छ। तर हामी यसो गर्न सक्दैनौं भने त्यसलाई किन्ने व्यक्तिहरुको उमेर १८ देखि बढाएर २१ पुर्याउनुपर्छ।’

उनले सो क्रममा उच्च क्षमता भएका म्यागेजिनमा पनि प्रतिबन्ध लगाउनुपर्ने उल्लेख गरे। त्यस्ता म्यागेजिनमा धेरै गोली अट्छन्।

सरकारले बन्दुक किन्ने अधिकार खोस्न लागेको नभएर अमेरिकी बालबालिका र परिवारको सुरक्षाको लागि यस्तो कदम चाल्न लागेको बाइडेनको भनाइ छ।

गत २४ मे मा अमेरिकाको टेक्ससस्थित विद्यालयमा बन्दुक चलाइँदा १९ बालबालिकासहित २१ जनाको मृत्यु भएको थियो। यसअघि सन् २०१८ मा मार्जोरी स्टोनमेन डगलास विद्यालयमा पनि बन्दुक हमला भएको थियो त्यसबेला विद्यार्थीहरुसहित १७ जनाको मृत्यु भएको थियो।

यस्तै यतिबेला बन्दुक सम्बन्धी विधेयकमा छलफल चलिरहेको छ। सो विधेयक पास भएमा अटोमेटिक राइफल खरिदमा कडाई गरिनेछ।


प्रतिक्रिया दिनुहोस्