काठमाडौं। यातायात व्यवस्था विभागले बागमती र गण्डकी प्रदेशमा दर्ता कायम रहेका सवारी साधनहरूमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट राख्न निर्देशन दिएको छ।
विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै यी दुवै प्रदेशमा दर्ता भएका सवारीसाधनमा असार मसान्तसम्म इम्बोस्ड नम्बरप्लेट राखिसक्न निर्देशन दिएको हो।
इम्बोस्ड नम्बर प्लेट नराखे साउन १ गतेदेखि ट्राफिक प्रहरीले अनुगमन गर्ने र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिने विभागको चेतावनी छ।
सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्न २०७८ कात्तिक २२ मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरिएको विभागको भनाइ छ। विभागले बागमती प्रदेशको एकान्तकुना र गर्जुधारा तथा गण्डकीका पोखराबाट इम्बोस्ड नम्बरप्लेज जडान गर्न सकिने बताएको छ।
इम्बोस्ट नम्बर प्लेट जडानले सवारी कर उठाउन सजिलो हुने देखिन्छ। लामो समयदेखि कर नतिरी चलाइएका सवारी साधनको हकमा कर तिरेर मात्र इम्बोस्ट नम्बर प्लेट जडान गर्न सकिनेछ।