पूर्व राजा वीरेन्द्रको २१औँ स्मृति दिवसमा दीप प्रज्वलन

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ९ : ३८


शान्तिप्रेमी पूर्व राजा वीरेन्द्र शाहको २१औँ स्मृतिसभा गरिएको छ।

वीरेन्द्र शान्ति प्रतिष्ठानले आज काठमाडौंमा आयोजना गरेको स्मृतिसभामा वीरेन्द्रको शालिकमा माल्यार्पण तथा उहाँले मुलुकको विकासमा पु¥याएको योगदानबारे समीक्षा गरिएको थियो।

जागरण सञ्चारगृहका अध्यक्ष रञ्जित धमलाले प्रजातन्त्रका पक्षधर राजा वीरेन्द्रको शासनकालमा मुलुकलाई शान्ति क्षेत्र घोषणा गर्न गरिएका प्रस्ताव, जनमत सङ्ग्रह, प्रजातन्त्र पुनःबहाली जस्ता कार्यले उहाँ दूरदर्शी कूटनीतिज्ञ र विकासप्रेमी भएको विचार व्यक्त गर्नुभयो ।

वीरेन्द्रले राष्ट्रप्रति गरेको योगदानको उच्च कदर गर्दै देशमा स्थायी शान्ति र राजनीतिक स्थायित्व राख्नु नै उहाँप्रतिको सम्मान हुने उहाँले बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष शिवहरि खनालले विश्वशान्तिका ज्योति भगवान् बुद्ध जस्तै नेपालको शान्ति क्षेत्र र विकासका लागि राजा वीरेन्द्रको योगदान पनि उच्च रहेको बताउनुभयो ।

सैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीले नारायणहिटी सङ्ग्रहालय अगाडि राजा वीरेन्द्रको २१औँ स्मरणमा दीप प्रज्वलन गरेको छ । पार्टीका केन्द्रीय सदस्य सरस्वती अधिकारीले देशभक्त र जनताप्रेमी राजा वीरेन्द्रको अभाव सधैँ खड्किरहेको भन्दै उहाँको प्रजातान्त्रिक आदर्शका साथै सम्पूर्ण सम्पत्तिको रक्षा गर्नु राज्यको दायित्व भएको बताउनुभयो ।

पार्टीका नेता सुन्दर पाण्डेले वीरेन्द्रले शान्ति र विकासका निमित्त राष्ट्रलाई दिएको त्याग र योगदानको उच्च मूल्याङ्कन गर्नुपर्नेमा जोड दिनुभयो । विसं २०५८ जेठ १९ गते भएको दरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रको सपरिवारका साथै अन्य सदस्यसमेतको हत्या भएको थियो ।


प्रतिक्रिया दिनुहोस्