रुसको विषयमा भारत पश्चिमा राष्ट्रसँग झुक्न तयार छैन, तेल खरिद बढेको बढ्यै

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  १ : १४


काठमाडौं। रुस–युक्रेन द्वन्द्व जारी रहँदा पनि भारतले रुसबाट लगातार तेल आयात गरिरहेको छ।

यतिबेला पहिलेभन्दा बढी तेल भारतले रुसबाट खरिद गरिरहेको हो। बीबीसीका अनुसार मे महिनामा मात्र भारतले रुसबाट ३०.३६ लाख मेट्रिक टन कच्चा तेल खरिद गरेको छ।

गतवर्षको मासिक औसत तेल आयातको अनुमातमा यो संख्या ९ गुणाले बढी पनि हो।

रुसले युक्रेनमा आक्रमण गरेको चार महिनामा प्रवेश गरिसकेको अवस्थामा पनि भारतले रुसबाट ४०.८ लाख मेट्रिक टन तेल खरिद गरिसकेको छ।

दोस्रोतर्फ पश्चिमा राष्ट्रहरुले भने युक्रेनमाथि आक्रमण गरेको भन्दै रुसमाथि कडा प्रतिबन्धहरु लगाएका छन्। विश्वका हरेक देश रुसविरुद्ध लाग्नुपर्ने उनीहरुको भनाइ छ।

अन्तर्राष्ट्रिय बजारमा प्रति ब्यारेल तेल ११९ अमेरिकी डलरमा किनबेच भइरहेको छ। तर भारतले भने रुसबाट ९५ अमेरिकी डलरमा प्रति ब्यारेल तेल खरिद गरिरहेको छ।

अमेरिका लगायतका पश्चिमा राष्ट्रले रुससँग कारोबार नगर्न भनिरहँदा भारतले भने सस्तो मूल्यमा रुसबाट तेल खरिद गर्न छाडेको छैन।

सोमबार मात्र युरोपेली युनियनले यस वर्षको अन्तिमसम्ममा रुसी निर्भरता कम गर्न त्यहाँबाट ज्यादै न्युन तेल खरिद गर्ने सम्झौता गरेका थिए। युरोप रुसी तेल र ग्यासमा भर पर्ने महादेश हो।

तर यतिबेला उनीहरुले युक्रेनको समर्थनमा त्यहाँबाट आर्थिक कारोबार बन्द गर्ने संकेत दिइरहेका छन्।

तर भारतले भने सस्तोमा तेल खरिद गरिरहेको छ। उसले आफ्ना साझेदार राष्ट्र अमेरिका, बेलायत, जर्मनीजस्ता पश्चिमा राष्ट्रको कुरा सुन्न चाहेको छैन। बीबीसी


प्रतिक्रिया दिनुहोस्