काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर बनेका बालेन साहले मेयरमा निर्वाचित हुनुअघि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेको खुलेको छ।
सामाजिक सञ्जालमा सार्वजनिक तस्विरमा बालेनलाई एमाले अध्यक्ष ओलीले आफ्नै निवास बालकोटमा स्वागत गर्दै गरेको देखिन्छ।
सो तस्विर चुनावी परिणाम आउँदै गर्दा बालेनले ओलीसँग एक्ला-एक्लै भेटघाट गर्दा लिइएको हो। तस्विर भने हाल मात्रै सार्वजनिक गरिएको छ।
भेटमा बालेनले अध्यक्ष ओलीसँग सुझाव मागेका थिए। उनी आफ्ना केही सहयोगीहरुसहित ओलीलाई भेट्न बालकोट पुगेको स्रोतले जनाएको छ।
अध्यक्ष ओलीले बालेनलाई मेयरका रुपमा अग्रिम बधाई दिएका थिए।
बालेनको चुनावी अभियानमा जोडिएको तस्विर सार्वजनिक भएसँगै विभिन्न टिकाटिप्पणी सुरु भएको छ। एमाले नेतृ शान्ता चौधरीले मेयर र अध्यक्षको भेट भन्दै ट्विट गरेकी छन्।
अर्थपूर्ण भेट। पुर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलि ज्यु र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन बिच भेट, ओलि निवास, बालकोट, भक्तपुर। फेरि पनि बधाई छ बालेन जि। pic.twitter.com/8XLm8jf1jg
— Shanta Chaudhary (@shantadangnepal) May 31, 2022
बालेनले काठमाडौं महानगरको मेयरको पदभार ग्रहण गरेसँगै जंङ्गीअड्डा पुगेर प्रधानसेनापति प्रभुराम शर्मासँग पहिलो उच्चस्तरीय भेटघाट गरिसकेका छन्। जसलाई कतिपयले ‘अर्थपूर्ण’ भनेका छन्।