बजेटमाथि आजदेखि सैद्धान्तिक छलफल हुँदै

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ७ : ३२


काठमाडौं । सरकारले संदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजदेखि छलफल सुरू हुँदैछ। बिहान ११ बजे बस्ने बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुने छ ।

संघीय संसद सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ। सम्भावित कार्यसूचीमा दुई वटा एजेण्डा राखिएको छ।

पहिलो एजेण्डामा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ।

त्यसैगरी दोस्रो एजेण्डामा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन्।

अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गरेका थिए । उक्त बजेटमा छलफल गर्न र सो क्रममा उठेका प्रश्नको मन्त्रीले जवाफ दिनका लागि सभामुख अग्नि सापकोटाले जेठ १७, १८ र १९ गतेको दिन तोकेका छन् ।


प्रतिक्रिया दिनुहोस्