नेपालगञ्जमा गठबन्धनमा अन्तरघात हुँदा जसपालाई फाइदा

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ६ : २८


नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरमा कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा गठबन्धनभित्र अन्तर्घात भएको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाबीचको गठबन्धनमा अन्तर्घात भएको हो।

गत वैशाख ३० गतेको निर्वाचनमा गठबन्धन रहेको कांग्रेस–जसपा कार्यपालिका सदस्य निर्वाचनमा फुटेर नयाँ गठबन्धन कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाबीच स्पष्ट बहुमत हुँदा हुँदै पनि गठबन्धनका तीन जना उम्मेदवार पराजित गराउँदै जसपाले फाइदा उठाएको छ।

नेपालगञ्ज उपमहानगरपालिकाको कार्यपालिका सदस्य निर्वाचनका लागि सोमबार मतदान भएको थियो। ८ जना सदस्यका लागि भएको निर्वाचनबाट नेपाली कांग्रेसका ३ जना, जनता समाजवादी पार्टी ९जसपा० नेपालका ३ जना र राष्ट्रिय प्रजातन्त्र पार्टीका २ जना निर्वाचित भएका छन्।

कार्यपालिका सदस्य निर्वाचनमा एकातिर कांग्रेस, माओवादी, राप्रपा र नेकपा एकीकृत समाजवादी ९एस० बीच तालमेल भएको थियो भने अर्कोतिर जसपा र नेकपा एमालेबीच गठबन्धन थियो।

कांग्रेस, माओवादी, राप्रपा र नेकपा एस गठबन्धनको स्पष्ट जित्ने संख्या हुँदाहुँदै पनि जसपा ३ जना सदस्य जित्न सफल भएको छ । कांग्रेसका ४२, माओवादीका ११ र राप्रपाका १४ जना गरी ६७ मतदाता थिए।

५ जना निर्वाचित हुने महिला सदस्यहरुमा कांग्रेसबाट अमृता कुमारी सिंह, कुमारी पुष्पा सिंह र संगिता रेग्मी, जसपाकी शोभा खटिक र राप्रपाकी विना थापा विजयी भएका छन्। यस्तै ३ जना निर्वाचित हुने दलित वा अल्पसंख्यक सदस्यमा जसपाका बसन्त कनोजिया र मोहम्मद मुजम्मिल हुसैन हलवाई र राप्रपाका विक्रम चिडिमार विजयी भएका छन्।

बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेससंँग गठबन्धन गरेर नगर उपप्रमुख जितेको जनता समाजवादी पार्टी ९जसपा० नेपालले कार्यपालिका सदस्य निर्वाचनमा नेकपा एमालेसंग तालमेल गरेको थियो। एमालेका २५ जना र जसपाका २५ जना जनप्रतिनिधि गरी ५० जना मतदाता हुन् । तर, कांग्रेस–माओवादी–राप्रपा र नेकपा एस गठबन्धनबाट जसपाका उम्मेदवारहरुले मत तानेका छन्।

नेपालगञ्जमा नगर प्रमुख र उपप्रमुख सहित २३ वटा वडाबाट ११७ जना जनप्रतिनिधि निर्वाचित भएका थिए । यिनै जनप्रतिनिधिहरुले कार्यपालिका सदस्य निर्वाचनमा मतदान गरेका हुन्। नेपालगञ्जको नगर कार्यपालिकाले अब पूर्णता पाएको छ । ३३ सदस्यीय कार्यपालिकामा जसपाका १०, कांग्रेसका ९, एमाले ५, माओवादी ४ र राप्रपाका ५ जना भएका छन्। नगर कार्यपालिका वोर्डमा कसैको पनि स्पष्ट बहुमत पुगेको छैन।


प्रतिक्रिया दिनुहोस्