इन्गेजमेन्ट पार्टीमा साथीले चलाएको गोली लागेर बेहुलाको मृत्यु

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ३ : १३


कायरो । इजिप्टमा आफ्नै इन्गेजमेन्ट पार्टीमा साथीले चलाएको गोली लागेर एक २१ वर्षीय बेहुलाको मृत्यु भएको छ। इजिप्टको अलेक्जान्ड्रियामा यही २५ मेमा साथीले अकस्मात चलाएको गोली लागेर बेहुलाको मृत्यु भएको हो। साथीहरूले बेहुलालाई लिएर अगाडि बढ्दा उत्सवको रुपमा बन्दुक पड्काइएको थियो । गोली लागे लगत्तै बेहुला भुइँमा ढलेका थिए।

गोली लागेर गम्भीर घाइते बनेका बेहुलालाई अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले मृत घोषित गरेका थिए । मध्यपूर्वका विभिन्न भागमा उत्सव मनाउँदा बन्दुक पड्काइन्छ । विवाह र इन्गेजमेन्टको सन्दर्भमा बन्दुक पड्काउनुलाई भने दुई परिवारलाई जोड्ने शक्ति र सम्मानको प्रतीकको रूपमा हेरिन्छ ।

तर, यस परम्परागत अभ्यास निकै खतरनाक मानिएको छ । विशेषतः भिडभाडयुक्त कार्यक्रममा हुने आकस्मिक गोलीबारीमा धेरै मानिसहरूको मृत्यु हुनुका साथै केहीलाई गम्भीर चोटपटक लागेको छ ।

बेहुलीका साथी मोहम्मद युसुफले स्थानीय सञ्चारमाध्यमलाई भने, ‘हामी एउटा ब्यूटी सैलूनमा गइरहेका थियौं, जहाँ दुलहीले आफ्नो मेकअप गरिरहेकी थिइन् र उत्सव मनाउन उनलाई एउटा कोठामा लैजान लागिएको थियो।’

तर, दुलही सैलुनबाट निस्कनुअघि मुस्तफा गोली लागेर घाइते भएका थिए। एजेन्सी


प्रतिक्रिया दिनुहोस्