जर्मनीका चान्सलर ओलाफ सोल्ज र फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले शनिबार रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई यूक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग ‘प्रत्यक्ष गम्भीर वार्ता’ गर्न आग्रह गर्नुभएको छ।
रूसी राष्ट्रपतिसँग ८० मिनेटको टेलिफोन वार्ताका क्रममा यूरोपेली संघका शक्तिशाली दुई नेताहरूले ‘तुरुन्तै युद्धविराम गर्न र रूसी सेनालाई यूक्रेनबाट’ हटाउन दवाव दिएको जर्मन चान्सलर सोल्जको कार्यालयले शनिबार जनाएको छ।
म्याक्रोँ र सोल्जले पुटिनलाई “यूक्रेनी राष्ट्रपतिसँग गम्भीर तथा प्रत्यक्ष वार्ता गर्न र यस द्वन्द्वको कूटनीतिक समाधान खोज्न आग्रह गर्नुभएको छ चान्सलरको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
फ्रान्सेली राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार तीन नेताहरूबीच टेलिफोनमार्फत् कुराकानी भएपछि “फ्रान्सका राष्ट्रपति र जर्मन चान्सलरले अजोभ्स्टलमा यूक्रेनी सुरक्षाकर्मीले आत्मसमर्पण गरेपछि रूसको नियन्त्रणमा रहेका करिब दुई हजार ५०० यूक्रेनी रक्षकहरूलाई मुक्त गर्न पनि आग्रह गरिएको थियो।