यौन हिंसाविरुद्ध उजुरी दिने हदम्याद हटाउन संकल्प प्रस्ताव दर्ता

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ३ : ०१


यौन हिंसा उजुरीको हदम्याद हटाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता भएको छ । सांसद् कमला पन्तको प्रस्तावमा विमला राय पौड्याल, प्रमिलाकुमारी यादव, खिमलाल देवकोटा, बिमला घिमिरे, मदनकुमारी शाह, शेखर कुमार सिंह, गंगा कुमारी बेलबासे र तुलप्रसाद विश्वकर्माले राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता गरेका हुन्।

यौन हिंसा सम्बन्धी उजुरीका लागि रहेको विद्यमान हदम्याद सम्बन्धी व्यवस्था हटाउन माग संकल्प प्रस्ताव दर्ता गराएका हुन्। हदम्यादका कारण पीडितले न्याय नपाउने र पीडकले सजायबाट उन्मुक्ति पाउने अवस्था देखिएको संकल्प प्रस्तावमा उल्लेख गरिएको छ।

नेपालमा यौनजन्य हिंसामा हिंसा भएको एक वर्षभित्र उजुरी गरिसक्नुपर्ने हदम्याद छ। यसरी उजुरी दिने हदम्याद राखिँदा पीडितहरुले न्याय पाउन नसकेको भन्दै संकल्प प्रस्ताव संसदमा दर्ता गरिएको हो।

बालबालिका संरक्षण सम्बन्धि एने २०७५ को दफा ७४, उपदफा २ र मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा २ मा रहेको यौन अपराधविरुद्ध उजुरी दिने हदम्याद सम्बन्धि व्यवस्था हटाउनुका साथै दण्ड सजायको व्यवस्थासमेत पुनरावलोकन गर्न जरूरी देखिएको संकल्प प्रस्तावमा उल्लेख गरिएको छ।

संकल्प प्रस्तावमा बाल यौन दुव्र्यवहारको कसुरमा सजायको लागि उजुरी दिने हदम्याद सम्बन्धी व्यवस्था पुर्णत हटाउने र बालबालिका बाहेक अन्यको हकमा समेत बलात्कार जस्तो जघन्य अपराधमा उजुरी दिने हदम्याद सम्बन्धी व्यवस्थाको पुनरावलोकन र पुनर्विचार गर्न आवश्यक संशोधन गर्नुपर्ने माग गरिएको छ।


प्रतिक्रिया दिनुहोस्