काठमाडौं। प्रकाश प्रजापति शारीरिक सुगठनको क्षेत्रमा लागेको दुई दशकभन्दा बढी भइसकेको छ।
शरीरलाई स्वस्थ, चुस्त र दुरुस्त राख्न ५० वर्ष पुग्न लागेका उनी अझै पनि जिम जान्छन् र हरेक बिहान शारीरिक व्यायम गर्छन्।
उनी भन्छन्,‘स्वास्थ्य जीवनको सबैभन्दा महत्वपूर्ण चिज हो। त्यसैले शरीरलाई स्वस्थ राख्न दैनिक एक घण्टा शारीरिक व्यायम गर्न जरुरी छ।’
शारीरिक सुगठनको क्षेत्रमा लागेको दशकौं भइसकेका उनले जिम पनि खोलेका छन्। ताहचल मार्गमा उनको ‘कम्फोर्ट जिम एन्ड फिटनेस सेन्टर’ नामको जिमखाना छ।
त्यहाँ कार्डियोदेखि जिमको हरेक सुविधा छ। अन्य क्षेत्रमा जस्तो उनको जिम महँगो छैन। यस विषयमा उनी भन्छन्,‘मेरो जिममा सबै सामग्रीहरु छ। तर मैले महँगो शुल्क लिने गरेको छैन। सामान्य परिवारका मानिस पनि जिम जान सकुन र उनीहरुले पनि जिममा आएर राम्रो शरीरका साथै स्वस्थ जीवन बाँच्न पाउन भन्ने मेरो उद्देश्य हो।’
सन् १९९९ मा उनलाई साउदी अरबको एक जिमखानाले जिम र एरोबिक ट्रेनरको रुपमा काम गर्ने अवसर दिएको थियो। त्यहाँ उनले साढे दुई वर्ष प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए।
साथै सन् २००९ मा यूएईको आवुधाबीमा पनि उनले जिम र फिटनेस ट्रेनरको रुपमा साढे दुई वर्ष काम गरे।
नेपाल ब्यायम मन्दीरमा उनले १६ वर्षसम्म जिम प्रशिक्षकको रुपमा काम गरिसकेका छन्।
त्यतिमात्र नभएर उनले राष्ट्रिय खेलकुद परिषदमा कोचको भूमिका निर्वाह गरिसकेका छन्। हाल उनी नेपालको बडि बिल्डिङ प्रतियोगिताहरुमा राष्ट्रिय जजको रुपमा कार्यरत छन्।