हवाइजहाजको टिकट पाउन पनि शक्ति केन्द्रको भर

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  १ : ०१


सुर्खेत । पहुँचविना हवाइ टिकट नपाइने हुँदा हुम्ला जान र आउन सर्वसाधारणले कष्ट भोग्दै आएका छन्।

यातायातका अन्य साधनको सहज पहुँच हुम्लामा नभएकाले एउटा टिकटका लागि समेत शक्ति केन्द्र धाउन सर्वसाधारण बाध्य छन् । त्यसमाथि पनि यहाँ निजी जहाजमात्रै सञ्चालन हुने गरेको छ। हाल हुम्लामा तारा र समिटले मात्र उडान गरिरहेका छन्।

सिमित सिटका कारण हवाइयात्रा गर्न हरेक पटक पावर लगाउनुपर्ने बाध्यता रहेको हुम्लाका सञ्चारकर्मी नरजन तामाङले बताए। हुम्ला सडक सञ्जालले नछोएको जिल्ला हो। सुर्खेतबाट हुम्ला जान १० हजार, हुम्लाबाट सुर्खेत आउँदा सात हजार रकम तिर्नुपरेको यात्रुहरू बताउँछन्।

सरकारी स्वमित्वको नेपाल वायु सेवा निगमले उडान कम गर्दा यात्रुहरू मार परेको छ। हुम्ला कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको जिल्ला पनि हो। स्थानीयले सरकारी स्वामित्वको जहाज चलाउन र उडान संख्या बढाउन मुख्यमन्त्री शाही र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री छिरीङ डम्डुल लामा ९कार्चेन० समक्ष पटक पटक आग्रह गरेका छन्। तर, उनीहरूको मागको सुनुवाइ भएको छैन।

नेपालगञ्ज जाने जहाजको टिकट लिन एक हप्तासम्म लगातार विमानस्थल धाउँदा पनि खाली हात फर्कनुपरेको खार्पुनाथ गाउँपालिका–१ प्युसका प्रेम शाहीले दुखेसो गरे। ‘तारा एयरले दिनको एक उडान मात्र गर्छ हामीले टिकट पाउदैनौं,’ उनले भने । सिमकोटमा उडान गर्दै आएका सीता र समिट एयरको जहाजले हुम्लाको उडान कटौती गरेका छन् भने सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले उडान भर्न छाडेको छ।

सुर्खेतभन्दा नेपालगन्जबाट हुम्लाका लागि फलाइटमा अझ महँगो छ । त्यस्तै, अर्को हिमाली जिल्ला डोल्पामा समेत भाडा खपी नसक्नुको छ। नेपालगन्जबाट डोल्पा जाँदा नौ हजार र फर्कदा पाँच हजार रकम तिर्नु पर्ने बाध्यता छ।


प्रतिक्रिया दिनुहोस्