पोखरा । पोखरा महानगरपालिकामा उपमेयर सहित ९ वडाध्यक्ष चुनाव जितेको एमालेले बुधबार विजयी र्याली निकाल्यो।
र्यालीअघि शहिदचोकमा शीर्ष नेताहरुको सम्बोधन थियो। वक्ता थिए, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी। अधिकारीले भाषण गरेर निस्किए। अनि भाषण गर्न आइपुगेका पृथ्वीसुब्बालाई भने कार्यर्ताले नाराबाजी गर्दै बिरोध जनाए।
‘अन्तरघाती मुर्दावाद, अन्तरघाती होसियार,’ उनीहरुको नारा थियो, ‘अडियो भिडियो काण्ड सार्वजनिक गर्।’ उनीहरुलाई पोखरामा मेयर चुनाव हार्नुमा प्रमुख कारण पृथ्वीसुब्बा गुट भन्ने लागेको छ। केही समयअघि सोही गुटका केही नेताहरुको अडियो सार्वजिक भएको थियो । त्यसपछि घटना झनै रोचक बन्यो।
अहिले कास्कीमा गुरुङ र अधिकारी गुटको टकराव छताछुल्ल भएको छ । यसअघि टिकटको समयमै दुई गुटबीच निकै अस्वस्थ प्रतिश्पर्धा भयो । पिएस गुटबाट टिकट पाएका दीपक पौडेललाई पूरानो सुन चोरीको भिडियो सामाजिक सन्जालमा पोष्ट गरेर अधिकारी गुटकै नेताहरुले टिकट खोसेको आरोप लगाइएको छ।
पछि अधिकारी गुटका कृष्ण थापाले टिकट पाए। तर चुनाव जित्न पाएनन्। प्रमुख कारणः एमालेभित्रको अन्तर्घातलाई मानिएको छ।