एक हप्ताभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न जनप्रतिनिधिहरूलाई निर्देशन

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ५ : २८


माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले पार्टीका निर्वाचित जनप्रतिनिधिहरूलाई जेठ १७ भित्र सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ।

महासचिव वेदुराम भुसालले ‘निर्वाचन विशेष सर्कुलर’ जारी गर्दै स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार भइ विजयी भएकाहरूलाई सम्पत्ति विवरण सार्वजनिक गर्न र सादा एवं असल जीवनशैली अवलम्बन गर्न निर्देशन गरेका हुन्।

‘जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्नूहोला। निर्वाचनको बेला जनसमक्ष गरेको वाचालाई कहिल्यै नभुल्नू होला।

ऐन तथा कानुनहरूको परिधिमा रहेर इमान्दारिता र कर्तव्य निष्ठताकासाथ जनताको सेवा गर्नूहोला। निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारबाट मुक्त रहँदै स्वच्छ एवं सादा जीवनशैली र असल आचरणको अवलम्बन गर्नुहोला’, निर्देशनमा भनिएको छ।

स्थानीय निर्वाचन जितेका पार्टीका जनप्रतिनिधिहरूलाई पठाइएको सर्कुलरमा पार्टी कमिटीका निर्णयहरू पालना गर्न समेत आग्रह गरिएको छ।


प्रतिक्रिया दिनुहोस्