बलात्कार प्रकरणमा माल्भिकाले पीडितलाई सघाउ पुर्याउने बयान दिइन्

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ५ : २९


काठमाडौं। सौन्दर्य प्रतियोगितामा सहभागी भएकी प्रतिस्पर्धीलाई आयोजक संस्थाका सञ्चालकले बलात्कार गरेको प्रकरणमा पूर्वमिस नेपाल माल्भिका सुब्बासँग प्रहरीले बयान लिएको छ।

सुब्बा सात वर्ष अगाडिको मिस ग्लोबल इन्टरनेसनल नामक सौन्दर्य प्रतियोगिताकी कोरियोग्राफर रहेकाले उनीसँग बयान लिइएको प्रहरीले जनाएको छ।

सुस्मिता रेग्मीले पाण्डेले आफूलाई ६ महिनासम्म बलात्कार गरेको आरोप लगाएकी छिन्। बलात्कार आरोपी मनोज पाण्डेलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले मंगलबार सुब्बासँग साक्षीका रूपमा बयान लिएको काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले जानकारी दिएका हुन्।

प्रतियोगिताका क्रममा आफूलाई बलात्कार गरेको पीडित युवतीले सोही समय सुब्बालाई बताए पनि उनले बेवास्ता गरेको युवतीको आरोप छ।

आफूमाथि पनि आरोप लागेपछि सुब्बाले सामाजिक सञ्जालमार्फत केही दिनअघि माफी मागेकी थिइन्। उनले न्यायिक प्रक्रियामा सहयोग गर्ने वचनसमेत दिएकी थिइन्।

माल्भिका सुब्बाले पीडित युवतीको पक्षमा बयान दिएको बताइएको छ। यसअघि इन्स्टाग्राममा पनि सुब्बाले आफूलाई सुस्मिताले कल गरेर पाण्डेले उनीमाथि दुर्व्यवहार गरेको विषय उल्लेख गरेकी थिइन्।


प्रतिक्रिया दिनुहोस्