स्थानीय सरकारले संघीयता सुदृढीकरणमा सहयोग गरेनन् : पृथ्वीसुब्बा गुरुङ

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ५ : १६


पोखरा । गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले सत्ता गठबन्धनबाट देशले निकास नपाउने बताएका छन्। संसदमा सम्बोधन गर्दै उनले गठबन्धन स्वार्थबाट प्रेरित भएको भन्दै त्यसको मार देशमा परेको बताए।

‘अहिले सत्ता गठबन्धन भयो। परमादेशी र जनादेशीबीच लडाइँ जारी छ । आफ्नो सजिलोका लागि सिद्धान्तको गलत ब्याख्या गरेर संघीयता सुदृढ हुँदैन,’ उनले भने, ‘तत्काल सत्ता प्राप्त गर्नु लोकतन्त्र होइन। सत्ता प्राप्तिको आफ्नो प्रचलन छ । सत्ता गठबन्धन मुलुकको विकासका लागि थिएन । त्यो केका लागि थियो भन्ने अहिले स्पष्ट भैसकेको छ ’

नयाँ सरकार गठनको एक वर्ष पुगिसक्दा पनि प्रभावकारी काम देखाउन नसकेको भन्दै उनले यो सरकारबाट कुनै सकारात्मक बाटो नदेखिएको बताए । ‘क्यान्सरको उपचार सिटामोलले हुने भए क्यान्सको औषधि किन चाहिन्थ्यो र किन दुख गर्नुपर्थ्यो रु हामी भ्रममा छौं,’ उनी भन्छन्, ‘हिजो प्रतिनिधिसभा विघटन सही थियो । अग्रगामी शक्तिले गर्ने चुनाव कहिलै प्रतिगामी हुन सक्दैन ।’

गुरुङले स्थानीय निर्वाचन पहिले भन्दा सुधारिएको भन्दै आयोगलाई धन्यवाद दिए । ‘चुनावमा धेरैको ज्यान जान्थ्यो । अहिले पनि सत्ताको उन्माद नदेखिएको होइन । तर यसपटक अलि परिपक्व भएछन् राजनीतिक दलहरु,’ अघि भन्छन्, ‘यसपालि मारकाट कम भए । चुनाव प्रचार अलि भलाद्मी भयो । त्यो पनि हामीले अभ्यासबाट सिकेको सिकाई होला । यो चुनाव समग्रमा सफल भएको छ ।’

उनले स्थानीय शासन प्रणालीले संघीय शासन प्रणालीको सुदृढीकरणका लागि खासै भूमिका नखेलेको गुनासो गरे । ‘प्रदेश सरकारको तर्फबाट योजना निर्माण र कानून निर्माण गर्ने कुरामा उनीहरूसँग समन्वय गर्न खोजेको हो । तर उनीहरूले प्रदेश सरकारले आफ्नो अधिकारमाथी धावा बोलेको ढंगले बुझे,’ गुरुङ भन्छन्, ‘जहाँजहाँ विद्यमान जनप्रतिनिधिहरु पुनः दोहोर्‍याएका छौं, धेरैले चुनाव हारेका छन् । यसबाट सिक्नुपर्छ, जो जनप्रतिनिधि भएर काम गरेका थिए, तिमध्ये शासक भएर काम गर्नेहरू पराजित भए । सेवक भएर काम गर्नेहरू पुनः निर्वाचित भए । हामी समन्वयमा काम गर्नुपर्छ ।’

गण्डकी प्रदेशका २१ जना पालिका प्रमुखहरु दोहोर्‍याएर चुनाव लड्दा पराजित भएका थिए ।


प्रतिक्रिया दिनुहोस्