अस्ट्रेलियामा मात्रै पाइने कङ्गारू भारतमा देखिएपछि स्थानीय अचम्मित, तस्करले ल्याएको खुलासा

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  २ : ५३


काठमाडौं। पूर्वी भारतमा जङ्गलनजिकै रहेको एउटा गाउँमा बाटोमा हिँडिरहेका गाउँलेले कमजोर र भोकाजस्ता देखिने तीनवटा जनावर देख्दा उनीहरू एकछिन छक्क परे।

उनीहरूले ती जीवलाई पहिला त्यहाँ कहिल्यै देखेका थिएनन्। उनीहरूले पश्चिम बङ्गालका वन अधिकारीलाई सूचित गरे जसले ती जीव कङ्गारू भएको बताए।

अस्ट्रेलियाको रैथाने कङ्गारू भारतमा पाइँदैन। ती कङ्गारूलाई उद्धार गरेर वन्यजन्तु निकुञ्जमा उपचारका लागि पठाइयो। तीमध्ये एउटा मर्‍यो।

गाउँलेहरू अझै अचम्भीत थिए। चाँडै ती जनावरका भिडिओहरू सामाजिक सञ्जालमा भाइरल भए।

“पश्चिम बङ्गालमा कहाँबाट कङ्गारू आयो,” एक ट्विटर प्रयोगकर्ताले लेखे। पश्चिम बङ्गालका प्रमुख वन्यजन्तु अधिकृत देबल रेले बीबीसीलाई ती जनावरहरू तस्करहरूले खुला छोडिदिएको हुनसक्ने बताए।

केही दुर्लभ जनावरहरू तस्करी भइरहेको गोप्य सूचना पाएपछि रेको टोलीले मुख्य सडकमा आइरहेका सबै सवारीसाधन चेकजाँच गरेका थिए।

“सायद तस्करहरूले चेकजाँचको कुरा थाहा पाएर ती जनावरलाई राजमार्गमै छोडिदिए,” रेले भने।

“तिनलाई सायद दक्षिणपूर्वी एशियाका निजी प्रजनन केन्द्रबाट यहाँ ल्याइएको थियो होला,” क्षेत्रीय वन्यजन्तु नियन्त्रण निकायका सहायक निर्देशक अग्नि मित्राले भने। उनले भारत आइपुग्ने दुर्लभ जनावरहरू प्रायः म्यान्मारको सीमा हुँदै आउने बताए।

हालैका दिनमा भारतमा दुर्लभ जनावरहरू तस्करी गरेर ल्याउने क्रम बढेको बताइएको छ।

मित्राका अनुसार थाईल्यान्ड, मलेशिया र दक्षिणपूर्वी एशियामा प्रमुख पर्यटकीय स्थानहरूबाट त्यस्ता जनावर तस्करी गरिन्छ।

भारतीय वन्यजन्तु अधिकारीहरू यस्तो जनावर तस्करी हुँदा तस्करलाई कानुनी कारबाही गर्न सहज नरहेको बताउँछन्।

भारतीय वन्यजन्तु संरक्षण कानुनले भारतमा पाइने जनावरलाई मात्रै सुरक्षित राख्छ।

भन्सार अधिकारीहरूले यस्ता जनावरको तस्करी रोक्न सक्छन् तर सीमा क्षेत्रमा लुकीछिपी हुने तस्करी रोक्न भन्सार कार्यालयसँग यथेष्ट स्रोतसाधन छैन।

वन्यजन्तु संरक्षण अभियानकर्मीहरू दुर्लभ जनावर पाल्नु प्रतिष्ठा र रबाफको कुरा मानिने प्रवृत्ति हालैका वर्षमा बढेको छ।

“केही समयअघि भारतको एउटा निजी चिडियाखानामा ल्याउन लागिएको जीब्रा बाङ्ग्लादेशमा बरामन भएको थियो,” विश्व जनावर संरक्षण समूहका शुभव्रत घोषले भने।

“मानिसहरू अनौठो काम गरिरहेका छन्।”

तर भारतमा दुर्लभ जनावरको रहर अनौठो होइन।

सन् २०२० को जुन महिनामा भारतको पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयले आफूसँग भएका दुर्लभ जनावरबारे जानकारी दिन अनुरोध गर्दै नयाँ योजना ल्यायो।

योजनाअन्तर्गत बिनाकागजपत्र घरमा वन्यजीव पाल्ने व्यक्तिलाई कानुनी कारबहाी नहुने बताइयो।

सन् २०२१ को सुरुसम्म त्यसका लागि ३२,६५४ जनाले निवेदन दिएको इन्डियास्पेन्ड नामक तथ्याङ्क वेबसाइटले बताएको छ।

सन् १८७६ मा भारतले विश्वका १८३ देशले अनुमोदन गरेको जोखिममा रहेका जनावर संरक्षणसम्बन्धी साइटिस सन्धिलाई ग्रहण गर्‍यो तर त्यसलाई अहिलेसम्म प्रयोग गरिएको छैन। साइटिसलाई भारतीय कानुनअन्तर्गत लागु गर्न नै मिल्दैन।

सांसदहरूले भारतको वन्यजन्तु संरक्षण ऐनको संशोधन अध्ययन गरिरहेका छन्। संशोधन प्रस्तावमा भारतमा नपाइने दुर्लभ प्रजातिलाई वन्यजन्तु अधिकारीको कार्यक्षेत्रमा ल्याउने र साइटिस लागु गर्नेसम्बन्धी प्रावधानहरू छन्।

तर कानुन संशोधन भए पनि त्यसको प्रभावका बारे अभियानकर्मीहरू संशय व्यक्त गर्छन्।

यता पश्चिम बङ्गालमा उद्धार भएका बाँचेका दुई कङ्गारू एलेक्स र हाभिअर बङ्गाल सफारी पार्कमा उपचाररत छन्। उनीहरूको स्वास्थ्य राम्रो बन्दै गएको छ।

“उनीहरूलाई तस्करीका बेला सानो ठाउँको कोचिएर राखिएको हुनाले मांसपेशीमा केही समस्या छ,” रे भन्छन्।

“यदि उनीहरू यहाँ रमाए भने हामी उनीहरूलाई मानिसले हेर्न पाउनेगरी राख्न सक्छौँ तर त्यसो गर्दा उनीहरूले आफ्नो जीवन चिडियाखानामा बिताउनुपर्छ। हामी उनीहरूलाई जङ्गलमा छोड्न सक्दैनौँ किनभने भारत उनीहरूको प्राकृतिक वासस्थान होइन।” बीबीसी


प्रतिक्रिया दिनुहोस्