‘गेम इज ओभर’ भन्ने केशव स्थापित तेस्रो स्थानमा, बालेन मेयर बन्ने पक्का

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  १० : ४८


काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको जित सुनिश्चित भएको छ।

मतगणनाको सुरुवाती चरणदेखि नै अग्रता कायम गरेका शाह महानगरपालिकाको मेयर पदमा विजयी हुने पक्का भएको हो।

मेयरमा बालेनले ५४ हजार ७१८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धन तर्फकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ३४ हजार ६ सय ८ मत प्राप्त गरेकी छन्।

यस्तै, तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३३ हजार ९७५ मत प्राप्त गरेका छन्।

२२ हजार मत गन्न बाँकी रहँदा बालेन बलिया पार्टीका प्रतिस्पर्धीभन्दा २० हजार मतले अगाडि छन्। यसअघि मेयरमा उम्मेदवारी दिँदै गर्दा केशव स्थापितले आफूले आफ्ना निकटतम प्रतिस्पर्धी भन्दा दोब्बर मत ल्याएर चुनाव जित्ने दाबी गरेका थिए।

उनले भनेका थिए,‘गेम इज ओभर। मेयर बन्ने मै हो। जमनामै ८० हजारभन्दा बढी भोट ल्याएको थिए। त्यसकारण अहिले दोब्बर मतले चुनाव जित्छु।’ यद्यपी परिणाम हेर्दा उनीचाँही बालेनभन्दा दोब्बरले तल छन्।


प्रतिक्रिया दिनुहोस्