पोखरा महानगर प्रमुखमा एकीकृत समाजवादीका आचार्य, उपप्रमुखमा एमालेकी गुरुङ

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ७ : ५५


गण्डकी । कास्कीको पोखरा महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य र उपप्रमुखमा नेकपा (एमाले) की मञ्जुदेवी गुरुङ विजयी भएका छन्।

स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत गत वैशाख ३१ गतेदेखि सुरु भएको मतगणनाको आज बिहान सार्वजनिक गरिएको अन्तिम मतपरिणामअनुसार प्रमुखमा आचार्यले एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतले पराजित गरेका हुन् । आचार्यले ५८ हजार ८९३ मत प्राप्त गर्दा उनका निकटतम् प्रत्यासी थापाले ५२ हजार ८४८ मत ल्याए ।

यसैगरी प्रमुखमा राप्रपाका शङ्कर खरालले पाँच हजार ६७४, स्वतन्त्रका खडकराज पौडेलले तीन हजार ३०, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमप्रसाद गुरुङले ५४६ र विवेकशील साझाका सुशीला केसीले ३३८ मत प्राप्त गरे । पोखराको प्रमुखमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २० उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए ।

यसैगरी उपप्रमुखमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गर्दै एमालेकी गुरुङ दोस्रो कार्यकालका लागि विजयी भइन् । गुरुङले ६० हजार ५४६ मत प्राप्त गर्दा उनका निकटतम् प्रत्यासी रानाभाटले ५६ हजार ६६३ मत ल्याइन् ।

उपप्रमुखमा राप्रपाका रञ्जनाकुमारी सेन पौडेलले पाँच हजार ६९९, विवेकशील साझाका माधव भण्डारीले २६४ र आमुल परिवर्तन मसिया पार्टीका पदमबहादुर गुरुङले १३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपप्रमुखमा राजनीतिक दल तथा स्वतन्त्र गरी आठ उम्मेदवार चुनावी मैदानमा थिए ।

पोखरा महानगरका ३३ वडामध्ये कांग्रेसले २३, एमालेले नौ र वडा नं २२ मा स्वतन्त्र उम्मेदवार हिमलाल बराल विजयी भएका छन् । विसं २०७४ को पहिलो स्थानीय तह निर्वाचनमा प्रमुख, उपप्रमुखसहित २२ वडामा एमाले विजयी बनेको थियो ।

विद्यार्थी राजनीति हुँदै महानगरको प्रमुखसम्म धनराज

पोखरा महानगरपालिका–३३ भरतपोखरीको गैरागाउँमा बुवा ऋतुनाथ आचार्य र आमा जमुनादेवी आचार्यको कोखबाट २०२६ चैत १७ गते जन्मिएका धनराज आचार्य नेकपा (एकीकृत समाजवादी)को कास्की अध्यक्षका साथै केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् । विसं २०३९ मा १३ वर्षको उमेरमा भरतपोखरीमा अनेरास्ववियुको प्रारम्भिक कमिटीको सदस्यतासँगै उनले विद्यार्थी राजनीति सुरु गरेका थिए ।

विद्यालयबाट आरम्भ भएको उनको विद्यार्थी राजनीतिले क्याम्पस तहमा पुगेपछि थप गति लियो । देशकै ठूलो र प्रतिष्ठित मानिने पोखराको पृथ्वीनारायण क्याम्पसमा उनी अनेरास्ववियुको प्रारम्भिक कमिटीमार्फत सक्रिय बने । एमालेसम्वद्ध विद्यार्थी सङ्गठनमा २०४४ सालमा आवद्ध भएपश्चात उनले अनेरास्ववियुको विभिन्न जिम्मेवारी सम्हालेका थिए । विसं २०४५ मा अनेरास्ववियुको कास्की जिल्ला सदस्य रहेका आचार्य त्यसपछि सङ्गठनको सचिव र अध्यक्षका रूपमा सक्रिय बने । विसं २०४८ मा अनेरास्ववियुको गण्डकी अध्यक्ष बनेका उनी २०४९ मा सो सङ्गठनको केन्द्रीय सदस्य बने ।

पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निवार्चनमा विभिन्न पदमा निर्वाचित भई जिम्मेवारी सम्हालेका उनी २०४९ सालमा पृथ्वीनारायण क्याम्पस स्ववियुको कोषाध्यक्ष बने भने २०५१ मा स्ववियुको सभापति निर्वाचित भए । विसं २०५१ देखि २०५३ सम्म स्ववियु काउन्सिलको महासचिव बनेका आचार्यले अनेरास्ववियुमा २०५० देखि २०५४ सम्म पश्चिमाञ्चल प्रमुख र २०५४ देखि २०५८ सम्म केन्द्रीय सचिवालय सदस्य बनेर विभागीय प्रमुखको जिम्मेवारी निर्वाह गरेका थिए ।

विद्यार्थी राजनीतिमा जस्तै पार्टी जीवनमा पनि उनी कलिलै उमेरमा लागेका थिए । चौध वर्षको उमेरमा नै उनी तत्कालीन नेकपा (माले)को युवा लिगमा आवद्ध थिए । विसं २०४५ मा राष्ट्रिय पञ्चायतका सदस्य प्रत्याह्वानविरुद्धको आन्दोलनमा घाइते र गिरफ्तार आचार्य दुई वर्ष निरन्तर जेलका राजबन्दी र पार्टीबीचको सम्पर्क सूत्रको जिम्मेवारीमा रहे । उनले विसं २०४७ मा मालेको सङ्गठित सदस्यता प्राप्त गरेका थिए। तत्पश्चात उनले २०४६ सालदेखि पाँच वर्षसम्म पार्टी विद्यार्थी इलाका कमिटीमा सदस्य र सचिवको जिम्मेवारी निर्वाह गरे ।

नेकपा (एमाले) कास्की जिल्ला कमिटी सदस्यका रूपमा २०५२ सालमा जिम्मेवारीमा रहेका नेता आचार्य २०५४ मा पार्टी विभाजनका बेला नेकपा (माले)मा आवद्ध भए । विसं २०५४ मा मालेको कास्की जिल्ला कमिटीको सचिवालय सदस्य रहे । पार्टीको विद्यार्थी सङ्गठनबाट राजनीतिक यात्रा सुरु गर्नुभएका आचार्यले व्यावसायिक सङ्गठनहरूको नेतृत्वमा रहेर पनि कार्य गरे । विसं २०६० मा एमाले कास्कीको उद्योग व्यवसाय विभाग प्रमुख रहेका उनी २०६४ देखि पाँच वर्षसम्म फ्रयाक्सन सचिवका रूपमा रहे ।

त्यसैगरी विसं २०६९ देखि २०७६ सम्म नेपाल उद्योग व्यवसायी महासङ्घको स्थायी कमिटी सदस्य र २०७१ देखि चार वर्षसम्म एमाले केन्द्रीय उद्योग तथा श्रम व्यवसाय विभाग सदस्य बने । विसं २०७५ देखि २०७८ सम्म नेकपाको उद्योग तथा व्यवसाय विभाग सदस्य रहेका आचार्य पार्टीमा आन्तरिक विवादसँगै अगाडि बढेका समानान्तर गतिविधिमा सामेल भए । एमालेभित्र कास्कीमा समानान्तर गतिविधि अगाडि बढाउन उनले नेतृत्व लिए ।

विसं २०७८ मा एमाले जिल्ला कमिटी कास्कीको सामानान्तर अध्यक्ष बने । एमालेभित्र नेता माधवकुमार नेपालले थालेको समानान्तर गतिविधिमा सामेल उनी पार्टी विभाजनसँगै स्थापना भएको नेकपा (एकीकृत समाजवादी)को जिल्ला नेतृत्वमा रहेका छन् ।

राजनीतिबाहेक उनी विभिन्न व्यावसायिक र सामाजिक संस्थामा पनि अध्यक्ष, सञ्चालक र प्रमोटरका रूपमा आवद्ध रहँदै आएका छन् । उनको पाठ्यपुस्तक प्रकाशन गृह, शैक्षिक सामग्री उद्योग, स्कुल–कलेज सञ्चालन, रासायनिक मल उद्योग र हाइड्रोपावरजस्ता व्यावसायिक क्षेत्रमा संलग्नता छ । त्यसैगरी कृषि, पर्यटन, बैंकिङ र हस्पिटालिटीलगायत दुई दर्जन व्यावसायिक प्रतिष्ठानमा आचार्य संग्लन छन् ।

नेपाल पुस्तक तथा व्यवसायी महासङ्घको महासचिव र राष्ट्रिय अध्यक्ष, पोखरा उद्योग वाणिज्य सङ्घको कार्यकारी सदस्य, उच्चस्तरीय पुस्तक नीति मस्यौदा समितिको विज्ञ सदस्य र पाठ्यपुस्तक मूल्य निर्धारण समितिमा विज्ञ सदस्यका रूपमा उहाँले कार्य गरिसकेका छन् ।

पोखरा महानगरको शिक्षा विज्ञ, लायन्स क्लब्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ बी–१ को क्याबिनेट सेक्रेटरी र गभर्नर रहेका उनी स्व रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान पोखराको महासचिव हुन् । पढाऔँ अभियान नेपालका सूत्रधार उनले अर्थतन्त्र, शिक्षा प्रणाली तथा नीतिका सन्दर्भमा दर्जनौँ कार्यपत्र प्रस्तुत गरेका छन् । विभिन्न तालिम र अध्ययनका सिलसिलामा आचार्यले विश्वका ४५ देशको भ्रमण गरिसेका छन् । भरतपोखरीको शान्ति उदय मावि हुँदै शैक्षिक यात्रा सुरु गरेका उनले एमबीए र एमएडसम्मको अध्ययन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्