युद्धको ३ महिना पुराः अमेरिकासहित २० देश युक्रेनमा अत्याधुनिक हतियार पठाउन राजी

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ४ : ३३


काठमाडौं। रुस र युक्रेनबीच युद्ध सुरु भएको तीन महिना पुरा भएर चार महिनामा प्रवेश गरेको छ।

गत फेब्रुअरी २४ का दिन रुसले युक्रेनमा आक्रमण थालेको थियो। सैन्य सामर्थ्यको हिसाबमा रुसले चाँडै युक्रेनलाई नियन्त्रणमा लिने अनुमान गरिएको थियो।

तर अमेरिकासहितका पश्चिमा राष्ट्रले शक्तिशाली हतियारहरु सहयोग गरेपछि युक्रेनले रुसको कडा रुपमा तीन महिनासम्म प्रतिकार गरिरहेको छ।

विश्वभरबाट युक्रेनलाई अरबौं डलर सहायता आइरहेको छ। यसबीचमा सोमबार मात्र अमेरिकासहित २० देशले युक्रेनलाई अत्याधुनिक हतियार सहयोग गर्न राजी भएका छन्।

पश्चिमा राष्ट्रहरुले युक्रेनमा सेना नपठाउने बताएता पनि हतियारहरु पठाइरहेका हुन्। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले सोमबार अमेरिकासहित २० देशले शक्तिशाली हतियार युक्रनेलाई प्रदान गर्ने जानकारी दिएका हुन्।

समाचार संस्था पीटीआईका अनुसार सोमबार विश्वभरका ५० देशका नेताहरु युक्रेन द्वन्द्वको विषयमा छलफल गर्न भिडिओ सम्मेलनमा भेला भएका थिए।

भिडिओ बैठकमा युक्रेनलाई हरपुन लन्चर–मिसाइलसहित नयाँ हतियार दिने सहमति गरिएको जनाइएको छ।

डेनमार्कले युक्रेनलाई हरपुन एन्टिसिप मिसाइल दिने भएपछि अमेरिकाले डेनमार्कप्रति आभार व्यक्त गरेको छ।


प्रतिक्रिया दिनुहोस्