ललितपुर मेयरका प्रत्याशी चिरिबाबु महर्जन भन्छन्ः जित सुनिश्चित भइसक्यो, सबैलाई धन्यवाद

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  १२ : ४२


काठमाडौं। ललितपुर महानगरपालिकाको मेयरका लागि दोस्रोपटक पनि प्रतिस्पर्धामा उत्रिएका काँग्रेसका चिरिबाबु महर्जनले आफ्नो जित सुनिश्चित भइसकेको बताएका छन्।

हालसम्म उनको पक्षमा ३७ हजार ९९८ मत प्राप्त भएको छ भने एमालेका हरिकृष्ण व्यञ्जनकारको २२ हजार ३८५ मत आएको छ।

अन्य प्रतिस्पर्धी धेरै तल छन्। झन्डै १५ हजार मतले अगाडि रहेका महर्जनले फेसबुक पेजमार्फत् आफ्नो जित सुनिश्चित भएको बताएका हुन्।

उनले आफूलाई मदतान गर्ने सबैलाई धन्यवाद पनि दिएका छन्। साथै उनले आफ्ना समर्थकको लागि सन्देश पछि छाडेका छन्।

उनले भनेका छन्,‘सम्पूर्ण नगरवासीमा नमस्कार,ज्वज्वलपा र जय नेपाल।

स्थानीय तह निर्वाचन २०७९ मा जिम्मेवार नागरिकको रुपमा प्रस्तुत भई विश्वाससहितको अपार माया, सदभाव, शुभेच्छा प्रदान गरी मतदान गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दछु।

यहाँहरुबाट हालसम्म प्राप्त अत्यधिक मतलाई आधार मान्ने हो भने जित सुनिश्चित भइसकेको छ।

आज २०७९ जेठ १० गते मंगलबार संभवत अपरान्हपछि मेयर र उपमेयरको अन्तिम परिणाम सार्वजनिक हुनेछ। तसर्थ, आज दिउँसो अन्दाजी ३ बजेको हाराहारीमा सबै शुभचिन्तकहरुलाई जावलाखेलमा उपस्थित भइदिनुहुनका लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद। जयनेपाल।’


प्रतिक्रिया दिनुहोस्