युक्रेनमा यी २१ वर्षे रुसी सेनालाई जन्मकैद हुने, ६२ वर्षे वृद्धको हत्या गरेका थिए

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ५ : ०६


काठमाडौं। रुसले युक्रेनमा आक्रमण गर्दैगर्दा सुरुवाती दिनमा एक ६२ वर्षका व्यक्ति रुसी सेनाको हातबाट मारिएका थिए।

ओलेक्सान्डर सेलिपोभा नाम गरेका ती व्यक्तिको घर अगाडिको सडकमा हत्या भएको थियो। उनीसँग हतियार थिएन किनभने उनी सर्वसाधारण थिए। रुसी सेनाले विवाद बढेपछि उनीमाथि गोली चलाएको थियो।

यतिबेला सो घटनामा गोली चलाउने २१ वर्षे रुसी सेना युक्रेनमा पक्राउ परेका छन्। तीन महिनापछि भिदाम सिसीमारिन नाम गरेका रुसी सेना युक्रेनी सेनाले पक्रन सफल भएको हो।

उनीमाथि सर्वसाधारणको हत्या गरेको र युद्ध अपराध गरेको विषयमा युक्रेनमा अनुसन्धान भएको छ। र उनले हत्या गरेको पुष्टि भएसँगै उनलाई जन्मकैदको सजाय सुनाइएको डेलीमेलले जनाएको छ।

यसअघि गत बिहीबार ६० वर्षका ओलेक्सान्डर सेलिपोभाका श्रीमती केटन्र्या र हत्यारा २१ वर्ष रुसी सेना सिसीमारिनको भेट भएको थियो। अदालतमा उनीहरु आमने–सामने भएका थिए।

ती युवाले आफूले हत्या गरेको स्वीकार गर्दै केटन्र्यासँग माफी मागेका थिए। यद्यपी उनले आफूले माफी नपाउनेमा विश्वस्त रहेको पनि बताएका थिए।

सो क्रममा श्रीमानका हत्यारालाई केटन्र्याले केही प्रश्नहरु गरेकी थिइन्। उनले भनेकी थिइन्,‘तिमी रुसीहरु यहाँ किन आएको? हाम्रो रक्षा गर्न आएको हो?’

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले बारम्बार युक्रेनलाई दुर्घटनाबाट जोगाउन रुसी सेना त्यहाँ पुगेको दोहोर्याउँदै आएका छन्।

‘हामीलाई कोबाट जोगाउने र बचाउने? तिमीले मेरा श्रीमान जोगाएको हो कि मारेको हो?’ केटन्र्याले यस्तो प्रश्न गरिरहँदा सिसीमारिन निशब्द देखिन्थे।

यद्यपी उनले घटनाबारे उत्तरमा भनेका थिए,‘हाम्रो सानो समूह अन्य सेनाबाट छुटेका थिए। त्यसबेला हामीले सडकमा एउटा कार देख्यौं। त्यसैमा आफ्नो गन्तव्यमा जान खोज्दा ती व्यक्तिले प्रतिवाद गरे। मेरो गोली हान्ने उद्देश्य थिएन तर अन्य अफिसरले दबाब दिएपछि गोली हानेको हुँ।’


प्रतिक्रिया दिनुहोस्