चितवनमा शुक्रबारको हावाहुरीले १४० विद्युत् पोलमा क्षति, पूर्ण सेवा सन्चालन ५ दिनमा

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ४ : ०७


चितवन। जिल्लामा शुक्रबार साँझ आएको हावाहुरीले रूख र बिजुलीका पोल ढालेपछि अवरूद्ध भएको भरतपुर महानगरपालिकाको विद्युत् सेवा पूर्णरुपमा सञ्चालनमा आउन अझै पाँच दिन लाग्ने भएको छ।

हावाहुरीका कारण भरतपुरका १४० विद्युत्का पोल ढलेका हुन्।

विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इञ्जिनीयर राजेन्द्र पौडेलका अनुसार भरतपुर महानगरको १ देखि ६ वडासम्म ती पोल ढलेका हुन्।

ती पोललाई व्यवस्थित गरेर पूर्णरुपमा विद्युत् सञ्चालन गर्न अझै पाँच दिन लाग्ने उहाँले बताउनुभयो।

केन्द्रका प्रमुख राजिवकुमार सिंहका अनुसार भरतपुर सबस्टेशनबाट वितरण भएको बिजुली सेवा अवरूद्ध भएको हो। उहाँका अनुसार भरतपुरमा हावाहुरीले पोल ढल्दा ठाउँठाउँमा तार चुडिएका छन्।

ढलेका पोल र तार मर्मताका लागि प्राधिकरणले चार वटा ठेकेदारको टोली र प्राधिकरणको सम्पूर्ण प्राविधिक शक्ति परिचालन गरेको सिंहले बताउनुभयो।

उहाँले अस्पताल र सुरक्षा निकाय, मतगणनास्थल, खानेपानीलगायत सम्वेदनशील क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर विद्युत् पुनःसञ्चालन गरिएको बताउनुभयो। चनौली सबस्टेशनबाट वितरण हुने बिजुलीमा भने समस्या नरहेको इञ्जिनीयर पौडेलले बताउनुभयो।

भरतपुर पश्चिम क्षेत्रमा विद्युत् प्रवाहमा समस्या नभए पनि सदरमुकाम भरतपुर क्षेत्र, नारायणगढ बजार क्षेत्र र पूर्वी चितवनको रत्ननगर खैरहनीसम्म विद्युत् प्रवाहमा समस्या रहेको उहाँले जानकारी दिनुभयो।

हावाहुरीका कारण रु ३० लाखको सामग्री क्षति भएको र रु पाँच करोडको विद्युत् खपत अवरुद्ध भएको उहाँले जानकारी दिनुभयो।

विद्युत् लामो समय नहुँदा मोबाइल फोन सेवासमेत प्रभावित भएको छ भने खानेपानी र इन्टरनेटसमेत प्रभावित छ। शुक्रबारको हावाहुरीका कारण तीनको ज्यानसमेत गएको थियो भने ११ घाइते भएका थिए।

हावाहुरीले भरतपुरको मुख्य शहरी क्षेत्रका धेरै रुख लडेका हुन्। धेरैजसो ठाउँमा रुखले विद्युत् पोल लडाएको हो।


प्रतिक्रिया दिनुहोस्