बारास्थित पूर्वपश्चिम राजमार्गका अधिकाशं पुन साँघुरो र जीर्ण

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ४ : ५४


बारा । बढ्दो सवारीसाधनको चापसँगै बारामा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ।

सवारीसाधनको बढ्दो चापसँगै विगत लामो समययता फराकिलो बन्न नसकेका सडक तथा पुलका कारण समस्या बढेको हो।

पूर्वपश्चिम राजमार्ग मुलुकको यातायात मेरूदण्ड मानिन्छ, दिनहुँ सोही राजमार्ग भएर हजारौं सवारीसाधन गुड्छन्। देशको विकासको आधार बनेको यस राजमार्गअन्तर्गत विभिन्न ठाउँका पुल अहिले साँघुरो र जीर्ण भएका छन्। पुल साँघुरोे भएकै कारण राजमार्गमा घण्टौँ जाम हुने गरेको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बारामा मात्र साना तथा ठूला गरेर एक दर्जन बढी पुल छन्। अधिकांश पुल साँघुरो र जीर्ण भएर सवारी जाम बढिरहेको छ।

औसत पुलको आयु ५० देखि ६० वर्षको हुने बताइन्छ, तर बारामा निर्माण गरिएका पुलहरू करिब ७० वर्षभन्दा पुराना छन्। पुल साँघुरोे र जीर्ण भएको वर्षौं भइसके पनि सरकारले नयाँ पुल निर्माणमा कुनै चासो दिएको छैन, जस कारण हजारौँ यात्रु जोखिम मोलेर गर्नुपर्ने यात्राको अन्त्य तत्काल हुने देखिँदैन।

सरकारले महंगो सवारी कर लिने गरेको पनि सडक निर्माणमा चासो नदिएकै कारण म्याद सकिएको पुलमा जीवन नै दाउमा राखेर सवारी चलाउन बाध्य भएको सवारी चालकहरूको गुनासोे छ।

बाराको पसाहा, बालगंगा, भमारा पुल, एक नम्बर पुललगाएतका पुल साँघुरोे र जीर्ण छन्। साँघुरा र जीर्ण पुलकै कारण ट्राफिक जामसमेत हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ।

जिल्ला ट्राफिक कार्यलय बाराको अधिकांश समय पुल क्षेत्रमा रहेका सवारीसाधनलाई व्यवस्थापन गर्नेमा बढी समय खपत हुने गरेको छ।

पुलहरूमा सवारी चाप दैनिक बढिरहेको र साँघुरो पुलका कारण जाम हुने गरेकाले अधिकांश ट्राफिक प्रहरी त्यहीँ जाम न्यूनीकरणका लागि खटाउनु परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक सुदर्नशन थापाले बताए। उनले नयाँ पुल निर्माण नभएसम्म समस्या समाधान नहुने बताए।


प्रतिक्रिया दिनुहोस्