नेटोमा आवद्ध हुने स्वीडेन र फिनल्यान्डको निर्णयप्रति रुस रुष्ट, अमेरिकाको पूर्ण समर्थन

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ११ : ४७


काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडनले उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको सदस्यता लिने स्वीडेन र फिनल्यान्डको ऐतिहासिक निर्णयप्रति अमेरिकाको ‘पूर्ण समर्थन’ रहने बताएका छन्।

दुवै देशले प्रतिरक्षा साझेदारीको एउटा हिस्साका रूपमा यसै साता नेटोको सदस्यताका लागि आवेदन दिएका छन्। दुई देशको पछिल्लो कदमलाई युरोपेली भूराजनीतिमा ठूलो परिवर्तनको रूपमा हेरिँदैछ।

तर उनीहरूको यो कदमको टर्कीले विरोध गरेको छ। स्वीडेन र फिनल्यान्डले कुर्दिश लडाकुहरूलाई सघाउने गरेको टर्कीको आरोप छ।

यद्यपि फिनल्यान्डका राष्ट्रपतिले आफ्नो मुलुक आतङ्कवादलाई लिएर गम्भीर रहेको र टर्कीको सुरक्षा चासोप्रति प्रतिबद्ध रहेको बताएका छन्।

उता नेटोलाई राष्ट्रिय सुरक्षाका लागि खतराको रूपमा लिँदै आएको रुसले त्यसको विस्तारलाई लिएर ‘मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएको छ।

नेटोको सदस्यता पाउन स्वीडेन र फिनल्यान्डलाई त्यसका सबै ३० सदस्य राष्ट्रको समर्थन चाहिन्छ। बाइडनले स्वीडेन र फिनल्यान्डले नेटोको सदस्यता पाएपछि सुरक्षा अवस्था सुदृढ हुने र त्यसले विश्वभरि सुरक्षा सहकार्य बढाउने विश्वास व्यक्त गरेका छन्।

युक्रेनमाथि रुसी अतिक्रमणलाई लिएर आफ्नो सुरक्षाप्रति बढ्दो चासोबीच स्वीडेन र फिनल्यान्डले दशकौँदेखिको तटस्थता त्याग्दै नेटोमा आबद्ध हुन लागेका हुन्।

फिनल्यान्डको हकमा कुरा गर्नुपर्दा उसको १,३०० किलोमिटर सिमाना रुससँग जोडिएको छ। टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआन चाहिँ नेटोको सदस्यता लिने दुई देशको निर्णको विपक्षमा उभिएका छन्।


प्रतिक्रिया दिनुहोस्