वीर अस्पताललाई बिरामीको चाप धान्नै गाह्रो

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  २ : ५३


काठमाडौँ । बिहीबार बिहान ९ बजेर ३० मिनेट जाँदा सिन्धुपाल्चोकका सज्जन तामाङ वीर अस्पतालको टिकट काउन्टरबाट टोकन लिएर बस्नुभएको थियो । उहाँले टोकन लिएको ४५ मिनेटपछि टिकट काट्ने पालो आयो । टिकट काटिसकेपछि पेटसम्बन्धी परीक्षणका लागि ग्यास्ट्रो ओपीडीमा जानुभएका तामाङले १५ मिनेटको फरकमा डाक्टरकहाँ परीक्षण गराउनुभयो ।

डाक्टरले सल्लाह दिएअनुसार उहाँले अन्य परीक्षणसमेत गराउनुभयो तर उहाँलाई डाक्टरले इन्डोस्कोपी गर्न सल्लाह दिए । इन्डोस्कोपी गर्न भने उहाँले १० दिनसम्म पालो कुर्नुपर्ने हुन्छ । यस्तै गत साता टिप्परले ठक्कर दिएर खुट्टा फ्याक्चर भई उपचार गराइरहनुभएका सोनालाल साह निरन्तर फलोअपका लागि वीर अस्पताल पुग्नुभएको थियो । टिकट काटेर चिकित्सकलाई देखाउँदा १२ बजेको थियो ।

नियमित फलोअपपछि १ बजे अस्पताल बाहिरको कुर्सीमा श्रीमतीसँगै बस्नुभएका साह कबाडीको काम गर्नुहुन्छ । कबाडीको काम गर्ने क्रममा उहाँलाई टिप्परले ठक्कर दिएपछि अस्पतालमा उपचार गराइरहनुभएको छ । भीडभाड भए पनि अस्पतालले दिने सेवाप्रति साह सन्तुष्ट हुनुहुन्छ ।

बिहान सवा ९ बजे गोरखापत्रको टिम वीर अस्पताल पुग्दा विगतभन्दा भीडभाड कम देखिन्थ्यो । अहिले वीर अस्पतालमा पहिलेजस्तो तीन सय मिटर लामो लाइन बसेर टिकट काट्नुपर्ने व्यवस्थाको अन्त्य भएको छ । बैङ्कमा जसरी टोकनको व्यवस्था हुन्छ, अस्पतालमा पनि टोकन प्रणाली लागू भएपछि उभिएर लाइन बस्नुपर्ने झन्झटबाट भने बिरामी मुक्त भएका छन् ।

टिकटमा टोकन प्रणालीले गर्दा टोकन लिएपछि निश्चित समयका लागि जहाँ गएर आए पनि पालो आउने भएकाले यो सुविधाले बिरामी हर्षित देखिन्थे । वीर अस्पतालमा सामान्य टोकन, ज्येष्ठ नागरिक तथा स्टाफ टोकन र अपाङ्गता तथा दृष्टिविहीन टोकन गरी तीन भागमा विभाजन गरिएको छ । लगभग केही मिनेट पर्खेपछि अपाङ्ग र ज्येष्ठ नागरिकको पालो आइहाल्छ । 
-गाेरखापत्र दैनिक


प्रतिक्रिया दिनुहोस्