काठमाडाैमा यसकारण हुन्छ घण्टौं जाम

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  २ : ५२


काठमाडौं । काठमाडौं उपत्यका अर्थात केन्द्रीय राजधानी भन्ने बित्तिकै चिल्ला र जाममुक्त सडक, फराकिला फुटपाथ, स्वच्छ र सफा वातावतरण भन्ने सोचिन्छ ।

राजधानी काठमाडौं उपत्यकामा भने ठीक त्यसको विपरीत देखिन्छ । काठमाडौं उपत्यकामा पछिल्ला दिनमा ट्राफिक जाम दिनप्रतिदन बढ्दो छ । सवारी साधनमा यात्रा गर्ने सवारी चालक तथा यात्रुले एउटा चोकदेखि अर्को चोकसम्म पुग्न पनि घण्टौं जाममा बस्नुपर्ने बाध्यता छ ।

मुख्यतयाः सवारी साधन दिनप्रतिदिन थपिने तर सरकारले सडक मर्मतसम्भार तथा विस्तारमा ध्यान नदिँदा जाम बढेको हो । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले राजधानीका नदी कोरिडोरका सडक समयमा निर्माण सम्पन्न भएमा मात्रै पनि ५० प्रतिशत जाम घट्ने दाबी गर्छन् । ‘नदी करिडोरका सडक निर्माण सम्पन्न हुनु हो भने ५० प्रतिशत जाम घट्छ’ उनले भने, ‘तर करिडोरका सडक निर्माणको गति सुस्त छ, सरकारले पनि चासो
दिएको छैन ।’

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले खाल्टाखुल्टी भएको सडकका कारण पनि जाम बढेको बताउँछन् । ‘एउटा गतिमा गुडिरहेको सडकमा खाल्टाखुल्टीका कारण गति कम गर्नुपर्ने हुन्छ, कतिपय सवारी रोकिनुपर्छ त्यसले पनि जाम बढ्यो,’ उनले भने ।

प्रमुख ढकालका अनुसार उपत्यकामा दैनिक चार÷पाँचवटा जसो ¥याली तथा जुलुस हुने गरेका छन् । ती -याली र जुलुसका कारण पनि ट्राफिक व्यवस्थापन गर्न कठिनाइ हुने गरेको छ । काठमाडौंमा २ हजार किमिभन्दा बढी सडक रहेको छ भने करिब १३ लाख सवारी गुड्ने गरेका छन् ।

ट्राफिक प्रहरीका अनुसार एक ट्राफिक प्रहरी बराबर ९ सय सवारी हेर्नुपर्ने अवस्था रहेको छ । ‘हामीले १८ घण्टा धुलोधुवाँ नभनी खटिरहेका छौं, ढकाल भन्छन्, ‘आमनागरिकको पनि जाम घटाउन उति नै भूमिका हुन्छ ।’

चोकचोकमा ट्राफिक लाइट हुँदा सवारी साधन व्यवस्थित रूपमा आवतजावत हुने भए पनि उपत्यकाका सबै चोकमा लामो समयदेखि ट्राफिक लाइट बिग्रिएर थन्किएका छन् । 
-राजधानी दैनिक


प्रतिक्रिया दिनुहोस्