काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष र प्रधानमन्त्री कार्यालयकै सचिवले लोकसेवा आयोगको नतिजा किनबेच हुने गरेको बताएका छन् । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा आयोग अध्यक्ष उमेश मैनाली र प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले आयोगको नतिजा बेच्ने प्रवृत्ति मौलाएको बताएका हुन् ।
‘लोकसेवा जाँच दिने पेसेवर नै छन् जो पटक–पटक नाम निकाल्छन्, तर जागिर खाँदैनन्,’ सचिव गुरागाईंले भने, ‘कारण के रहेछ भनेर खोज्दै जाँदा त वैकल्पिकसँग रकम लिने रहेछन् । पास भएको व्यक्तिले नियुक्ति नलिएपछि वैकल्पिकले जागिर खान पाउने भयो । यस्तो सेटिङ हुँदोरहेछ ।’ लोकसेवामा आठपटकसम्म नाम निकालेर नियुक्ति नलिएको ‘केस’ पनि भेटिएको उनले बताए ।
सचिव मैनालीले लोकसेवा नतिजाको किनबेचको थप पुष्टि–उदाहरण नै पेस गरे । ‘धादिङमा एउटा केटोले सुब्बामा नाम निकाल्यो, तर नियुक्ति लिएन । पछि काठमाडौं आएर खरिदारमा जागिर खायो,’ उनले भने, ‘किन रहेछ भनेको त सुब्बाको पद वैकल्पिकमा नाम निकाल्नेसँग पैसामा साटेको रहेछ ।’ गुरागाईंको भनाइमा लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले पनि समर्थन जनाए । समिति बैठकमा सहभागी मैनालीले भने, ‘लोकसेवाको नतिजा किनबेच गर्ने प्रवृत्ति मौलाएको सही हो । परीक्षा पास गरेर पनि नियुक्ति नलिने अनि वैकल्पिकसँग बार्गेनिङ गर्ने अनियमितता छ । यसलाई रोक्न ऐनमै कडा व्यवस्था गर्नुपर्छ ।’
-नयाँ पत्रिका दैनिक