प्रदूषणका कारण एक वर्षमै ९० लाख मानिसको मृत्यु, भारतमा मात्रै २३ लाखको मृत्यु

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ५ : २३


काठमाडौं। सन् २०१९ मा प्रदूषणका कारण विश्वभर ९० लाख मानिसको मृत्यु भएको एक अध्ययनले देखाएको छ।

बाहिरको हावामा सास फेर्दा मृत्यु बढेकोमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। हावा, पानी र माटोमा मानवका कारण उत्पन्न फोहोरले विरलै मानिसलाई तत्काल मार्छ।

तर, यसले हृदय रोग, क्यान्सर, श्वासप्रश्वास समस्या, पखाला र अन्य गम्भीर रोगहरू निम्त्याउँछ।

प्रदूषण र स्वास्थ्यसम्बन्धी ल्यान्सेट आयोगले विश्वव्यापी स्वास्थ्यमा प्रदूषणको प्रभाव ‘युद्ध, आतंकवाद, मलेरिया, एचआईभी, क्षयरोग, लागूपदार्थ र मदिराको भन्दा धेरै ठूलो रहेको’ जनाएको छ।

‘प्रदूषण मानव स्वास्थ्य र ग्रह अस्तित्वमा खतरा हो। यसले आधुनिक समाजको दिगोपनलाई खतरामा पार्छ’, अध्ययनमा भनिएको छ।

‘यदि हामीले स्वच्छ र हरियाली तरिकाले उत्पादनका लागि व्यवस्थापन गर्न सकेनौँ भने डरलाग्दो गल्ती गरिरहेका छौंँ’, रिपोर्टका प्रमुख लेखक रिचर्ड फुलरले भने। रसयानिक प्रदूषणले जैविक विविधतालाई पनि हानी गरेको र यो अर्को चुनौती भएको उनले बताए। ‘यी चीजहरू भयानक रूपमा जोडिएका छन्’, उनले थपे।

समग्रमा विश्वव्यापी रूपमा ६ जनामा एक जनाको अकाल मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ।

घरभित्रको वायु प्रदूषण, असुरक्षित पिउने पानी र अपर्याप्त सरसफाइसँग सम्बन्धित मृत्युदरमा कमीसँगै अफ्रिकामा भने धेरै सुधार आएको अन्वेषकहरूले बताएका छन्।

दक्षिण र पूर्वी एसियामा औधोगिकरणसँग जोडिएको अकाल मृत्यु भने बढेको विज्ञहरुले बताएका छन्। लेन्सेट प्लेन्टरी हेल्थमा प्रकाशित सो अध्ययनमा सन् २०१९ मा व्यापक वायु प्रदूषणले ४५ लाखको ज्यान गएको थियो।

रिपोर्टअनुसार भारतमा मात्र २३ लाख जनाले प्रदूषणका कारण ज्यान गुमाएका छन्। २३ लाखमध्ये १६ लाखको वायु प्रदूषणका कारण मृत्यु भएको हो भने ५ लाख जल प्रदूषणका कारण मृत्यु भएको रिपोर्टमा उल्लेख गरिएको छ।


प्रतिक्रिया दिनुहोस्