चीन र पाकिस्तानसँगको सीमा क्षेत्रमा भारतले तैनाथ गर्दै रुसी एस–४०० क्षेप्यास्त्र प्रणाली!

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ५ : ००


काठमाडौं। चीन र पाकिस्तानको खतरा मध्यनजर गर्दै भारतले चीन–पाकिस्तानसँगको सीमा क्षेत्रमा रुसी एस–४०० क्षेप्यास्त्र प्रणाली तैनाथ गर्ने निर्णय गरेको छ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले दिएको जानकारीअनुसार भारतले एक महिना भित्रै दुवै सीमा क्षेत्रमा क्षेप्यास्त्र प्रणाली तैनाथ गर्नेछ।

पेन्टागनका अधिकारीका अनुसार भारतले हतियार आधुनिकिकरणमा पनि काम गरिरहेको छ। वायुसेना, थलसेना तथा नौसेनाका हतियारसँग परमाणु हतियार पनि परिस्कृत गरिनेछ।

अमेरिकी लेफ्टिनेन्ट जनरल स्कट बेरियरका अनुसार गतवर्षको डिसेम्बर महिनादेखि भारतले रुसबाट एस–४०० क्षेप्यास्त्र प्रणाली प्राप्त गरिरहेको छ।

पाकिस्तान र चीनसँग भारतको दशकौं लामो सीमा विवाद छ। पाकिस्तानसँगको सीमा क्षेत्रमा दोहोरिँदै हिंसा हुँदै आएको छ। सन् २०२० मा त चीन र भारतीय सेनाबीच हिंस्रक झडप नै भएको थियो।

सो क्रममा २० भारतीय सेना साथै ६ चिनियाँ सेनाको ज्यान गएको थियो। भारतले त्यसयता बारम्बार दोहोर्याउँदै आफू आफ्नो सीमा क्षेत्र रक्षा गर्न सक्षम भएको बताउँदै आएको छ। इकोनोमिक टाइम्स


प्रतिक्रिया दिनुहोस्