पुटिनलाई इंगित गर्दै जेलेन्स्कीले भनेः घृणा समाप्त हुनेछ, तानाशाह मारिनेछन्

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  १ : ३४


काठमाडौं। रुसले युक्रेनमा आक्रमण थालेको ८० दिनभन्दा बढी भएको छ। यद्यपी युद्ध रोकिने कुनै संकेत देखिएको छैन।

रुसले राखेको सर्तहरु युक्रेनले नमान्दा त्यहाँ रुसले दैनिक आक्रमण गरिरहेको हो। युक्रेनले पनि विदेशी हतियारको सहयोगमा रुसका कडा प्रतिकार गरिरहेको छ।

रुसले युक्रेन नेटोमा आवद्ध हुन नहुने माग राखेकोमा त्यो युक्रेनले मान्ने बताएको छ। यद्यपी क्राइमियालाई रुसी क्षेत्र मान्नुपर्ने र लुहान्स्क तथा डोनेट्स्कलाई स्वतन्त्र राज्य घोषणा गरिनुपर्ने मागमा युक्रेन सहमत छैन।

युक्रेनका अनुसार रुसी सर्तहरु देशको हितमा छैनन्। युद्ध जारी रहँदा दुवै पक्षमा हजारौं सेना मारिएका छन्।

यसबीचमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विश्वभरका नेतासँग सहयोगको लागि छलफल गरिसकेका छन्। सोही क्रममा पूर्व अभिनेता तथा कमेडियन जेलेन्स्कीले फ्रान्सको कान फिल्म फेस्टिबलमा पनि सम्बोधन गरेका छन्।

हालै एउटा भिडिओ सन्देश जारी गर्दै जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई इंगित गर्दै भनेका छन्,‘अन्तिममा घृणा समाप्त हुनेछ र तानाशाह मारिनेछन्।’

उनले दोस्रो विश्वयुद्धका दौरान सिनेक्षेत्रले खेलेको भूमिकाको पनि प्रशंसा गरे। द ग्रेट डिक्टेटर चलचित्रले त्यसबेला जर्मन तानाशाह अडोल्फ हिट्लरको मजाड उडाएको जनाए।


प्रतिक्रिया दिनुहोस्