पिपीएल क्रिकेट : चितवनको फराकिलो जित

प्रकाशित मिति : ३ पुस २०७६, बिहिबार  १२ : २७


काठमाडौं । चितवन राइनोजका शुरुआती ब्याटस्म्यान रोहन मुस्ताफा र पारस खड्काले पहिलो विकेटका लागि ११७ रनको उत्कृष्ट साझेदारी गर्नुभएपछि पोखरा प्रिमियर लिग (पिपीएल) टी–२० क्रिकेट प्रतियोगितामा चितवनले बुटवल ब्लास्टर्सलाई ११९ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज टस जितेर बुटवलले पहिला ब्याटिङका लागि निम्ता दिएपछि प्रतियोगितामा दोस्रो जितको खोजीमा रहेको चितवनले उत्कृष्ट शुरुआत गरेको थियो ।

चितवनका शुरुआती ब्याटस्म्यान रोहन र पारस दुवैले अर्धशतक पूरा गर्दै टोलीका लागि उत्कृष्ट शुरुआत गर्नुभएको थियो ।

रोहनले ५६ बल सामना गरी ७० रन बनाउनुभयो भने पारसले ४० बलमा ६३ रन जोड्नुभएको थियो ।
 
त्यसैगरी चौथो क्रममा ब्याटिङमा आउनुभएका आरिफ शेखले १९ बलमा ४० रन जोड्नुभएपछि चितवनले विशाल लक्ष्य प्रस्तुत गर्न सफल भयो ।

चितवनले निर्धारित पूरै ओभर खेल्दै तीन विकेटको क्षतिमा २०३ रनको विशाल योगफल तयार गरेको थियो।
 
जितका लागि २०४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा बुटवल १८ दशमलव चार ओभरमा ८४ रन जोडेर अल आउट हुन पुग्यो। 

बुटबलका अफ्ताबुद्दिन अहमदले दुई र अविनाश बोहोराले एक विकेट लिनुभएको थियो ।

बुटवलका शिभम् सिंहले ३३ बलमा ३३ रन बनाउनुभयो भने भीम सार्कीले २१ बलमा २१ तथा हरि चौहानले २० बलमा १२ रन बनाए पनि अन्य ब्याटसम्यानले दोहोरो अङ्कको रन जोडन् सक्नुभएन। 

चितवनका करण केसीले आफ्नो तीन दशमलव चार ओभर बलिङमा चार विकेट लिएर मात्र ११ रन खर्चिँदै उत्कृष्ट बलिङ गर्नुभएको थियो ।

त्यस्तै रोहन मुस्ताफाले दुई तथा सन्नी पटेल, भुवन कार्की, विक्रम सोव र विक्रम भुसालले समान एक÷एक विकेट लिनुभएको थियो।
 
आजको जितसँगै दुई खेल खेलेको चितवन चार अङ्क बटुलेर अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतियोगितामा सहभागी अन्य पाँच टोलीको समान दुई अङ्क रहेको छ ।

यद्यपि काठमाडौँ गोल्डेन वारियर्स र पोखरा पल्टनले तीन खेल खेलिसकेका छन् भने अन्यले दुई खेल खेलेका छन् । 


प्रतिक्रिया दिनुहोस्